उद्योगले आवश्यकताअनुसारको सुपारी आयातको अनुमति पाउँछ : मन्त्री बडू

File Photo

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगले आवश्यकताअनुसारको कच्चा पदार्थ (सुपारी) आयातको अनुमति पाउने बताउनुभएको छ । 

आज प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले उद्योगको आवश्यकताअनुसार नै सरकारले सुपारी आयातको अनुमति खुलाएको बताउनुभयो ।

उहाँले व्यवसायीले कच्चा पदार्थ ल्याउने तर उद्योगीले आवश्यक कच्चा पदार्थ नपाउने गुनासो बढेपछि सरकारले औद्योगिक प्रयोजनका लागि मात्र सुपारी आयातको अनुमति दिइएको जिकिर गर्नुभयो । 

“उद्योगीको गुनासोपछि हामीले कच्चा पदार्थ आवश्यक पर्ने उद्योगलाई मात्र कच्चा पदार्थ आयातको अनुमति दिनुपर्छ भनेर नै तोकेका हौँ । यसअघिको सरकारले अपारदर्शी निर्णय गर्दा अहिले समस्या देखिएको हो, हामीले आयातलाई व्यवस्थित गर्दैछौँ, कच्चा पदार्थ नपाएकै कारण कुनै पनि उद्योग बन्द हुँदैनन्”, उहाँले भन्नुभयो ।

उहाँले सरकारले सुपारी आयातलाई व्यवस्थित गर्ने काम गरिरहेको भन्दै आयात खुलाउनुपर्नेमा जोड दिनुभयो । “समितिले अध्ययन गर्ने भन्दै सुपारी आयातको अनुमति रोकेको रहेछ । तपाईँहरूले अध्ययन गरिसक्नुभयो, सुझाव भए केही पाऊँ, होइन भने अहिले रोकिएको आयात खुलाऊँ”, उहाँले भन्नुभयो । उहाँले आयात खुलाउनुपर्ने माग गरेपछि समितिका सभापति विमल श्रीवास्तवले आइतबार थप छलफल गरेर थप निर्णय गरिने बताउनुभयो ।

गत चैत २३ गते समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको थियो । 

समितिको निर्देशनअनुसार वाणिज्य विभागले हाल सुपारी आयातको अनुमति रोकेको छ । समितिको बैठकमा सहभागी पान तथा गुट्खा उद्योगका प्रतिनिधिले कच्चा पदार्थ नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका थिए ।

श्रीराम टोबाको उद्योगका प्रतिनिधि रघु घिमिरेले पर्याप्त मात्रामा सुपारी नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । “हामीसँग १० दिनका लागि पुग्ने सुपारीको मौज्दात छ, सहज रूपमा सुपारी आयात गर्न नपाउँदा क्षमताभन्दा कम गुट्खा उत्पादन गरेर अन्य जनशक्ति सुपारी खोज्न लाग्नुपरेको छ”, उहाँले भन्नुभयो, “हामीले हाम्रो जनशक्तिलाई झापाका सुपारी किसानको घरघरमा पुर्‍याएका छौँ । किसानको घरघरमा गएर ल्याएको सुपारीले हाम्रो उद्योग धानेको छ ।”

यस्तै पान व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर अधिकारीले सरकारकै कारण रोजगारी गुम्ने खतरा बढेको बताउनुभयो । “हामी पाना व्यवसायी आफैँ स्वरोजगार बनेका छौँ, आवश्यकताअनुसारको सुपारी नहुँदा व्यवसाय नै गुम्ने खतरा बढ्यो”, उहाँले भन्नुभयो, “देशभर ६० हजार पान पसलले एक लाख २५ हजारलाई रोजगारी दिएको छ, सुपारी नहुँदा उनीहरूको रोजगारी जान सक्छ ।” रासस

https://ujyaalonepalnews.com/archives/18891

Previous articleथप १४ जनामा सङ्क्रमण पुष्टि
Next articleमिथिलाञ्चल सहित तराई मधेशमा जुडशीतल पर्व मनाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।