मिथिलाञ्चल सहित तराई मधेशमा जुडशीतल पर्व मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा हर्षोल्लासपूर्वक आज जुडशीतल पर्व मनाइँदै छ ।

प्रत्येक वर्षको वैशाख २ गते राति नै भाडामा राखेको शीतल बासी पानी घरका मूल व्यक्तिले घरका हरेक सदस्यलाई टाउकोमा आजुरले दुई पटक राखेर आशिष दिने गर्दछन् ।

यसका साथै गाउँ बस्तीका उमेरले ठूला भएका व्यक्तिले छरछिमेकमा आफूभन्दा साना उमेरका व्यक्तिको टाउकामा आजुरमा जल लिएर थपथपाई आशीर्वाद दिँदै वर्षभरि जुडाउने कामना सहित आशीर्वाद दिने गर्दछन् ।

वैशाख सुरु भएसँगै सूर्यको तेजसँगै गर्मी पनि अत्यधिक मात्रामा बढेपछि वैशाख १ गते सातु खाने र २ गते वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित टाउकोमा आजुरले पानी थप थपाएर आशीर्वाद दिने चलन रहेको छ ।

यति मात्र नभएर घर वरपर भएको बोटबिरुवामा चिसो पानी राखेर सिञ्चित गर्ने चलन रहेको छ । मानवलाई बोटबिरुवाले पनि छायासँगै अन्य प्रकारको लाभ दिने भएकाले यसको संरक्षण गर्नुपर्ने सन्देश दिँदै सिञ्चित गर्ने गरिन्छ ।

बढ्दो सूर्यको तापबाट मानव तथा बोटबिरुवा पनि प्रभावित हुने गरेकाले शीतल जल प्रदान गर्ने गर्दछन् । नयाँ वर्षमा टाउकोमा जल सिञ्चित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नयाँ नयाँ सृजनात्मक कार्य गर्ने जनविश्वास रहेको छ ।

आजैका मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा केही ठाउँमा हिलोपानी पनि खेल्ने गरेका छन् । माटो पनि मानव शरीरलाई शीतलता प्रदान गर्ने भएकाले हिलो दलेर शुभकामना प्रदान गर्ने गरेका छन् ।

यसैगरी वैशाख १ गते घरघरमा विशेष रुपमा तयार पारिएका बासी भात, तरुवा, सहितका परिकार बनाएर खाने तथा खुवाउने चलन रहेको छ । मधेश प्रदेश सरकारले जुडशीतलको अवसर पारेर मधेश प्रदेशका जिल्लाहरूमा आज सार्वजनिक बिदा दिएको छ ।

https://ujyaalonepalnews.com/archives/18892

Previous articleउद्योगले आवश्यकताअनुसारको सुपारी आयातको अनुमति पाउँछ : मन्त्री बडू
Next articleएमाले अध्यक्ष ओलीद्वारा घलेगाउँलाई सुखी गाउँ घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।