जापानी अनुसन्धानकर्ताको टोलीले चितवनमा तेल उद्योगको सर्वेक्षण गर्ने

0
77

चितवन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत चुजी आयल मिल्स कम्पनीले चितवनमा तेल उद्योगको सर्वेक्षण अध्ययन सुरु गर्ने भएको छ । खानेतेल उत्पादनको अवस्थाबारे सर्भे गर्ने भएको छ । सर्भेका लागि जापानको चुजी आयल मिल्स कम्पनीका जनरल म्यानेजर सुजुकी हिदेमासा, अनुसन्धानकर्ताहरू माचुदा थेचु, थाकायामा युमि, आवे मासाहिरो लगायतको टोली चितवन आइपुगेको छ ।

जनरल म्यानेजर सुजुकी हिदेमासाले चितवनमा अन्तर्राष्ट्रियस्तरको तेल उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन कार्य सुरु हुन लागेको बताए । “खानेतेल उद्योगका लागि चितवनमा उत्पादन, सम्भावनाको अवस्था के छ भनेर १ वर्षसम्म अध्ययन गर्नेछौँ”, उनले भने, “कुन क्षमताको उद्योग बनाउने सर्भेपछि यकिन हुनेछ ।” २०१९ मा पहिलो पटक आएको जापानी टोली कोभिड महामारीका कारण ढिलो गरी चितवन आएको हो । सन् २०२० फेब्रुअरीदेखि सर्भेको काम गर्ने तयारी भइरहेका बेला कोभिड–१९ महामारीले सर्भेको काम रोकिन पुगेको थियो ।

एसडिजिएस मोडेल फर्मुलेसन सर्भेका लागि चितवन आएको टोलीले चितवनमा खाने तेल उद्योग स्थापनाका लागि वस्तुस्थिति अध्ययन गर्नेछ । सर्भेका संयोजक राजनकुमार पौडेलका अनुसार विभिन्न चरणमा हुने सर्भेको रिपोर्ट पछि चितवनमा अन्तर्राष्ट्रियस्तरको तेल उद्योग स्थापना हुनेछ ।

तोरी, भटमास, मकै, माछा, अदुवा, लसुन लगायतको तेल, जुस, जनवारको दाना लगायतका २० प्रकारका उत्पादन गर्ने गरी उद्योग खोल्ने लक्ष्य राखिएको छ । “किसानलाई पनि प्रोत्साहन हुनेछ, बजारीकरणमा सहज हुनेछ”, उनले भने, “सर्भेपछि आवश्यकता अनुसारको उद्योग स्थापनाको लागि पहल गर्नेछौँ ।” जापानी उच्चस्तरको प्रविधिमा आधरित उद्योगबाट स्वदेश तथा विदेशमा उत्पादनलाई बजारीकरण गर्न सकिने उनले बताए । एसिया र युरोपका २८ देशमा चुजी आयल मिल्स कम्पनीका उद्योगहरू छन् ।

https://www.ujyaalonepalnews.com/archives/18987

Previous articleBreaking ..पल शाह प्रकरणमा ट्वीस्ट, पीडित किशोरी गायिकाले फेरिन् बयान
Next articleनेप्से परिसूचक निरन्तर ओरालो