काठमाडौँ । भोलि मङ्गलवारदेखि देशका ७७ जिल्लाका ७५३ पालिकाका ३ लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ ।
कृषि गणनाका लागि ५ हजार २०० गणक र १ हजार ३०० सुपरिवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उप-महानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो ।
वैशाख ६ देखि १९ सम्म सञ्चालन हुने कृषि गणनामा स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल ३ लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तरवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरिवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ ।
सातौँ कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपंक्षी पालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् । राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिन केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा बाँझो जमिनको समेत तथ्याङ्क सङ्कलन गरिने भएको छ ।
https://ujyaalonepalnews.com/archives/18995


