इन्धन खपत २० प्रतिशतले घटाउन निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सार्वजनिक सङ्घसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ ।

file photo

मन्त्रालयले आज सूचना जारी गर्दै चालु आर्थिक वर्षका लागि छुट्टाइएको इन्धन शीर्षकको बाँकी बजेट २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो । विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि इन्धन कटौतीको व्यवस्था लागू नहुने मन्त्रालयले प्रस्ट पारेको छ ।

बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको भन्दै सरकारले गत चैत ३० गते इन्धन शीर्षकमा छुट्टाइएको बजेट कटौती गर्ने निर्णय गरेको थियो । विद्युत्को प्रयोगलाई बढवा दिँदै इन्धनको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो ।

छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीको इन्धन सुविधा पनि २० प्रतिशतले कटौती गर्न मन्त्रालयले अनुरोध गरेको छ । इन्धन कटौतीको व्यवस्था असार मसान्तसम्म लागू हुने अर्थ मन्त्रालयका प्रवक्ता डुन्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

इन्धन कटौती निर्णय पालना भए/नभएको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछन् ।

https://ujyaalonepalnews.com/archives/18996

Previous articleभोलिदेखि देशभर कृषि गणना शुरु हुने
Next articleबालकोट बैठकः चुनावबारे अलमलमा नपर्न र तयारीमा जुट्न पार्टी कमिटीहरुलाई निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।