चितवनमा ९ महिनामा सवारी कारबाहीबाट २ करोड ३२ लाख सङ्कलन 

चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८।०७९ को ९ महिनामा सवारी कारबाहीबाट २ करोड ३२ लाख २४ हजार राजश्व सङ्कलन भएको छ । 

चालु आवको श्रावण देखि चैत्र सम्म जिल्ला ट्राफिक कार्यालय, चितवनले उक्त राजश्व सङ्कलन गरेको हो ।  सो अवधिमा सबै सवारी साधन गरी २४ हजार ४६४ वटा सवारी साधन कारबाहीमा परेका थिए । 

सबैभन्दा बढी राजश्व र कारबाहीमा मोटरसाइकल 
९ महिनाको अवधिमा सबै प्रकृतिका सवारीसाधनमध्ये सबैभन्दा बढी ६ हजार ५७६ वटा मोटरसाइकल कारबाहीबाट ५५ लाख १० हजार पाँच सय रुपैंया राजश्व सङ्कलन भएको छ भने सबैभन्दा कम एक हजार १७६ ट्रयाक्टर कारबाहीबाट ११ लाख ३४ हजार पाँच सय रुपैंया राजश्व सङ्कलन भएको छ । 

यस्तै दोस्रो सबैभन्दा बढी जिप कार कारबाहीमा परेका छन् । सो अवधिमा ५ हजार ५९३ वटा जिप कारबाट ५२ लाख तीन हजार रुपैंया राजश्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार ४ हजार ६४९ वटा ट्रक ट्रिपरबाट ५० लाख २५ हजार रुपैंया, ३ हजार १०९ बस माइक्रो, बस कारबाहीबाट २८ लाख ७८ हजार पाँच सय, र ट्याम्पो तथा अन्य सवारी ३ हजार ३६१ वटा बाट २५ लाख ७३ हजार रुपैंयांँ राजश्व सङ्कलन भएको छ । 

जिल्लामा सवारीको चाप र  सङ्ख्या मोटरसाइकलको बढी भएको र ट्राफिक नियम उल्लङ्घनको सङ्ख्या पनि मोटरसाइकलबाट हुने गरेकाले राजश्व सङ्कलन पनि सोही मात्रमा वृद्धि भएको कार्यालयका प्रमुख धर्म बहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा सवार गर्दा दुर्घटनाको सङ्ख्या साथै उल्लङ्घनका घटना बढी भएकोले मोटरसाइकल बढी कारबाहीमा परेका हुन् । 

कतिपय मोटरसाइकल चालकको चालक अनुमति पत्र तथा ब्लुबुक नबोकी हिँड्ने गरेकोले पनि कारबाहीमा पर्ने गरेको अधिकारीले बताउनुभयो । अन्य सवारीको हकमा मापसे, लेन अनुशासन पालना नगर्ने, ओभरट्रेकिङ्ग, यान्त्रिक गडबडी , क्षमताभन्दा बढी सामान तथा यात्रु बोक्ने लगायतका  गल्तीको प्रकृति अनुसार पनि  कारबाही सङ्ख्या घटबढ हुने गरेको उहाँको भनाई छ  ।  

https://ujyaalonepalnews.com/archives/19010

Previous articleयुवा संघ वडा कमिटि अध्यक्षको नेतृत्वमा रत्ननगरमा ५० जना युवा माओवादी केन्द्रमा प्रवेश
Next article‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।