ऊर्जा व्यापार केन्द्र स्थापना गर्ने सहमति

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को ऊर्जा मन्त्री स्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रिड कनेक्सन’ सम्बन्धी गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्ने लगायतका विषयमा सहमति गर्दै १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ ।

बैठकमा ग्रिड अन्तर सम्बन्ध कार्यान्वयन तथा आवश्यक कार्ययोजना तयार गर्नका लागि ‘बिम्स्टेक ग्रिड इन्टर कनेक्सन को-अर्डिनेशन कमिटी’ स्थापना गर्ने सहमति भएको वक्तव्यमा उल्लेख छ ।

एसियाली विकास बैङ्कको सहयोगमा बिम्स्टेक ग्रिड पारस्परिक जडान समन्वय समितिसम्बन्धी गुरुयोजना बनाउन पनि बैठकमा सहमति भएको छ । त्यसैगरी ऊर्जा व्यापारका लागि नीति एवं ट्यारिफ प्रणाली विकास गर्न पनि बैठकले स्वीकृति प्रदान गरेको छ । बिम्स्टेक राष्ट्रहरूबिच ऊर्जाको व्यापार कसरी गर्ने भन्ने विषयमा सहकार्यको योजना बनाउन विशेषज्ञसहित समूह विकास गर्न समझदारी भएको छ ।

त्यसैगरी ऊर्जासम्बन्धी अनुसन्धानका लागि र सदस्य राष्ट्रहरूबिच अनुभव आदानप्रदान एवं सहकार्यलाई सबल बनाउन बिम्स्टेक ऊर्जा केन्द्र स्थापना गरिने भएको छ । त्यसका लागि गुरुयोजना र कार्ययोजना बनाउने, संरचना तयार गर्ने र सञ्चालनका लागि आवश्यक पर्ने कोष तयार गरिनेछ भन्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

बैठकको अध्यक्षता गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिम्स्टेक मुलुकमा पर्याप्त प्राकृतिक स्रोत उपलब्ध भएको उल्लेख गर्दै विशेष गरेर स्वच्छ र नवीकरणीय प्राकृतिक स्रोतलाई ऊर्जाको रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

दिगो र उपयुक्त विकासका लागि ऊर्जा, वातावरण र अर्थतन्त्र महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “हामीले निरन्तर जीवाश्म इन्धनको प्रयोग गरिरहेका छौँ । हाम्रो वातावरणमा तनाव सिर्जना गर्ने यो प्रवृत्तिलाई परिवर्तन गर्न जरुरी छ ।” उहाँले बिम्स्टेक राष्ट्रहरूबिच आर्थिक सहकार्यलाई अझ थप विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपालको तर्फबाट बैठकलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले छिमेकी मुलुकसँग ऊर्जा सहकार्यमा प्रगति हुँदै गएको बताउनुभयो । बिम्स्टेक राष्ट्रमा आपसी भरोसा, सहयोग र साझेदारीले सदस्य मुलुकहरूको विकास प्रयासलाई अनुकूल र स्तरोन्नति गर्न सहयोग पुग्ने विश्वास कार्कीले व्यक्त गर्नुभयो ।
रासस

https://ujyaalonepalnews.com/archives/19080

Previous articleसामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै नगरप्रमुखद्वारा बैङ्कमा तालाबन्दी
Next articleसोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन : अध्यक्ष ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।