लघुवित्तबाट उन्नति गर्दै महिलाहरू

तनहुँ  । तनहुँ डुम्रेकी अञ्जु थापा श्रेष्ठले गाई पालनबाट मासिक डेढ लाख आम्दानी गर्दै आइरहनुभएको छ । 

दैनिकी चलाउन गाह्रो भएपछि उहाँले घर नजिकै रहेको सबैको लघुवित्त वित्तीय संस्था डुम्रे शाखाबाट करिब एक लाख रुपैयाँ ऋण लिएर गाई पालन व्यवसाय सुरु गर्नुभएको थियो । 

घर–व्यवहार चलाउन निकै कठिन भएपछि पशुपालनमा लागेकी अञ्जुको जीवन अहिले लोभलाग्दो छ ।

डुम्रेस्थित उहाँको निजी निवासमा पुग्दा गोठभरि गाई थिए । श्रीमान्ले गाईलाई पराल दिइरहनुभएको थियो । गाई पालनबाट मनग्य आम्दानी गरिरहनुभएकी अञ्जु आफ्नो विगत सम्झेर गह भरी आँसु झार्नु हुन्छ । 

पाँच वटा गाई पालनबाट व्यवसाय सुरु गर्नुभएको अञ्जुका गोठमा अहिले २७ वटा दुहुना गाई छन् । “मैले बच्चा सानै छँदा दुःख गरेर भेटेनरी पढेँ । त्यति बेला सिकेको ज्ञान अहिले काम लागेको छ” अञ्जु भन्नुहुन्छ “त्यसैको आम्दानीबाट अहिले छोराछोरी पढाइरहेकी छु । जसका लागि सबैको लघुवित्तबाट कर्जा लिएर मैले व्यवसाय विस्तार गरेकी हुँ ।”

डुम्रे, तनहुँस्थित ‘सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड’ शाखाबाट एक लाख रुपैयाँ ऋण लिएर उहाँले गाईको सङ्ख्या बढाउनुभएको हो ।

पहिला उहाँले ४ वटा गाईबाट व्यवसाय सुरु गर्नुभएकोमा अहिले २७ वटा गाई पुगेका छन् । अहिले सोही लघुवित्तबाट ३ लाख ऋण लिनुभएको छ उहाँले ।  लघुवित्तमा आबद्ध भएपछि अञ्जुले मासिक ५ सय रुपैयाँ पनि बचत गर्दै आउनुभएको छ ।

मासिक किस्ता तिर्न कुनै कठिनाइ छैन । सोही व्यवसायबाट उहाँले अहिले घर व्यवहार चलाएर ३ तले पक्की घर बनाउनुभएको छ । ४ वर्षमै उहाँले यो प्रगति गर्नुभएको हो । 

हाल गाई पालनबाट मात्रै उहाँले मासिक डेढ लाखभन्दा बढीको आम्दानी गर्नुहुन्छ । “अहिले गाईले दैनिक करिब ९० लिटर दूध दिन्छ । मैले नेपाल दुग्ध विकास संस्थान, डुम्रे शाखामा बेचेर मानिस १ लाख ६५ हजार आम्दानी गर्छु”, उहाँले भन्नुभयो । 
 गाई पालनबाट राम्रो आम्दानी भएपछि अञ्जुका श्रीमान् पनि वैदेशिक रोजगारी छाडेर गाई पालनमा नै उहाँलाई सघाइरहनुभएको छ । परिवारसँग छुट्टिनु पनि नपर्ने, साथमा बसेर खुसीसाथ व्यवसाय गरेकी अञ्जुको व्यवसाय अहिले बढेर २५ लाख पुगेको छ । 

अञ्जुकी देउरानी सङ्गीतालाई पनि सफल व्यवसायी बन्न मन छ । व्यवसाय सुरु गर्न अञ्जुले नै सङ्गीतालाई सहयोग गरिरहनुभएको छ । 

अञ्जुको प्रगति त्यतिमै मात्र सीमित रहेन । उहाँले व्यवसायका साथसाथै आफ्नो क्षमता पनि बढाउनुभयो । जसको श्रेय उहाँ लघुवित्तलाई दिनुहुन्छ । 

“लघुवित्तले हामीलाई समय–समयमा विभिन्न सिप तथा क्षमता विकास तालिम दिनुका साथै व्यक्तित्व विकासमा पनि सहयोग गरेको छ” उहाँले भन्नुभयो “अहिले म सुखी र खुसी छु । यो सबै खुसी मलाई सबैको लघुवित्तले दिएको हो ।”

अञ्जु त एक प्रतिनिधि पात्र मात्रै हो । उहाँ जस्तै सयौँ महिलाले सबैको लघुवित्तबाट सेवा लिएर आफ्नो जीवनमा आमूल परिवर्तन ल्याउन सफल हुनुभएको छ । 

यस्तै अर्को उदाहरण हो, भानु नगरपालिका तनहुँ मूलाबारी बगैँचाकी कमला श्रेष्ठ ।  ५४ वर्षकी कमलाले आफ्नो जीवनमा धेरै उतारचढाव भोग्नुभएको छ । दुई छोरा र दुई छोरीको पढाइ उहाँले एक्लै थेग्नुभयो । 

घर खर्च धान्न कुनै उपाय नदेखेपछि उहाँले साथीको सल्लाहमा चटपटे पसल खोल्नुभयो ।  यो नै उहाँको जीवन परिवर्तन गर्ने एउटा सुनौलो मोड बन्यो । 

स्थानीय चुनावको समय उहाँ र उहाँकी साथी नजिकैको थानीमाईको मन्दिर अगाडी चटपटे बेच्नुहुन्थ्यो । त्यसबाट कमाइ हुने देखेपछि उहाँले गाउँमै सटर भाडामा लिएर चटपटेका साथै खाजाको व्यवसाय सुरु गर्नुभयो ।

This image has an empty alt attribute; its file name is 20220420_181632-1-768x1024.jpg

‘सबैको मूलाबारी लघुवित्त केन्द्र ५६’ की अध्यक्ष समेत रहनुभएकी कमलाले सुरुमा १० हजार ऋण लिएर चटपटे व्यवसाय सुरु गर्नुभएको हो ।

अहिले उहाँको पसलमा खाजा मात्र नभई अन्य किराना सामान समेत उपलब्ध छ । जसले गाउँमा मानिसलाई केही हदसम्म सजिलो भएको छ । त्यतिमात्र होइन, उहाँको पसलमा अहिले एक पटकमा ३० जनासम्मलाई खाना तथा खाजा खुवाउने व्यवस्था उपलब्ध छ । 

“सुरुमा सबैको लघुवित्तबाट ८० हजार ऋण लिएर सटर भाडामा लिनुका साथै अन्य किरानाका सामान पनि थपेँ । अहिले राम्रै आम्दानी हुन्छ । सहजै किस्ता तिर्न सक्छु”, उहाँले भन्नुभयो “व्यवसाय सुरु गर्दा मसँग एउटा थाल समेत थिएन । अहिले एकै पटक ३० जनासम्मलाई खाजा खुवाउन सक्छु ।”
 कमलाले भक्कानिँदै भन्नुभयो, “घरपरिवारले मलाई हेरेनन् तर लघुवित्तले दिएको ऋणले मेरो व्यवसाय बढ्यो, ४ वटा छोराछोरीलाई लेखाइ पढाई गरिरहेकी छु, म खुसी छु, अरू दिदीबहिनीले पनि आफ्नै व्यवसाय गर्नुपर्छ, मेरो जीवनबाट उहाँहरूले सिक्नु पर्छ ।”
 कमलाकी भाउजू शारदा श्रेष्ठले पनि केरा खेती गर्दै आइरहनुभएको छ । उहाँले पनि सबै लघुवित्तको ऋणबाटै केरा खेती सुरु गर्नुभएको हो । तर, उहाँलाई बजार नपाएकोमा भने चिन्ता छ । “यतातिर केरा खेतीमा राम्रो आम्दानी छैन । बरु लोकल कुखुराबाटै फाइदा हुन्छ”, उहाँले भन्नुभयो । 

अञ्जु, कमला र शारदालगायत ७३ हजारभन्दा बढीले सबैको लघुवित्तबाट सेवा लिइरहनुभएको छ । 

त्यसमध्ये डुम्रे लघुवित्तको शाखामा मात्रै १ सय ४३ केन्द्र रहेका छन् । यसमा आबद्ध भएर धेरै महिलाहरूले व्यवसाय सञ्चालन गर्नुका साथै आफ्नो जीवनस्तर समेत उकासेको सबैको लघुवित्तका नायव महाप्रबन्धक पवन श्रेष्ठले बताउनुभयो । 

“हामीले ४३ हजार ४६६ सदस्यलाई व्यवसाय गर्न कर्जा प्रवाह गरेका छौँ । ऋण उपभोग गर्नेमा महिला बढी हुनुहुन्छ” । उहाँले भन्नुभयो ।

२०७४ साल असार २५ गते नेपाल राष्ट्र बैङ्कबाट इजाजत पाएको सबैको लघुवित्त ४४ जिल्लामा ९० वटा शाखाबाट सेवा दिइरहेको छ । हाल २७ करोड चुक्ता पुँजी रहेको उक्त लघुवित्तले १४ अर्ब २० करोड कर्जा वितरण गरेको नायव महाप्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो । 

सो कर्जामध्ये ९ अर्ब ६१ करोड असुली भइसकेको छ भने ४ अर्ब ५९ करोड लगानी रहेको छ । लघुवित्तले विभिन्न ९ वटा बचत खाता सञ्चालनमा ल्याई कुल १ अर्ब २४ करोड ८९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको उहाँले बताउनुभयो । 

श्रेष्ठका अनुसार, यस लघुवित्तले वित्तीय मात्र नभई गैर वित्तीय कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । 

“सबै सदस्यलाई सिपमूलक तालिम प्रदान गर्दै आएका छौँ ।”, उहाँले भन्नुभयो, “पहिला बोल्न नसक्ने महिलाहरू लघुवित्तले गर्दा महिनामा एक पटक भेला हुने, बचत गर्ने, ऋण लिने, व्यवसाय गर्ने अगाडि आएर बोल्न सक्ने क्षमताको विकास भएको छ ।” 

“लघुवित्तलाई महिलाहरूले माइत घर जस्तै ठान्ने गर्छन् । हामीले पनि उनीहरूको आवश्यकता अनुसार विभिन्न सिप, क्षमता तथा व्यक्तित्व विकासका कार्यक्रमहरू सञ्चालनमा ल्याउने गरेका छौँ ।” उहाँले भन्नुभयो

https://ujyaalonepalnews.com/archives/19106

Previous articleविद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा
Next articleराष्ट्रिय कृषि गणना : ७ हजार २ सय कर्मचारी खटिए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।