
रामेछाप । रामेछापमा पहिलो पटक जुनार खेतीको बिमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बिमा गरिएको हो ।
परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बिमा गरी किसानको बगैँचामा पुगेर बिमा लेख हस्तान्तरण गरेको हो ।
बिमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बिमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिनुभयो । उहाँले जुनार बगैँचामा रोग लाग्न नदिन टोली बनाएर विषादी छर्ने व्यवस्था भएको बताउनुभयो ।
बिमा मार्फत आगलागी, चट्याङ, भूकम्प, अधिक वर्षा, बाढी, पहिरो, खडेरी, आँधी बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक बाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने आइएमइ जनरल इन्स्योरेन्स रामेछापका प्रमुख विपिन भट्टराईले जानकारी दिनुभयो । उहाँले नोक्सानी भएमा अधिकतम बिमा रकमको सीमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/19127


