काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको वस्तुस्थिति अध्ययन समितिले आज अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ ।
मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाको अवस्था तथा उनीहरूको व्यवस्थापनका लागि गर्नुपर्ने कामबारे स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन आज हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको भूमिहीनका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर पहल शुरु गरेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले संविधानमा मौलिक हकमा व्यवस्था भएको र राज्यको सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिमा रहेको मुक्त कमैया, कमलरी, हरवाचरवा, हलिया, भूमिहीन सुकुम्वासीको पहिचान गरी बसोबासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषि योग्य जमिन र रोजगारीको व्यवस्था गर्दै पुनः स्थापना गर्ने भन्ने व्यवस्था भए अनुसार काम गर्न यस प्रतिवेदनले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले प्राप्त प्रतिवेदनमा उल्लेखित सुझावहरूलाई उच्च प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहले गर्नुपर्ने अधिकार क्षेत्रभित्र रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भूमिहीनका समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत लालपुर्जा वितरण शुरु भइसकेको भन्दै सुकुम्वासी र सबै खालका भूमिसम्बन्धी समस्या समाधान गर्न आफूहरू लागिपरेको पनि बताउनुभयो ।
मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको वस्तुस्थिति अध्ययन समितिले बुझायो प्रतिवेदन :
https://ujyaalonepalnews.com/archives/19178


