
चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी उत्पादन बढाई देशलाई औषधीमा आत्मनिर्भर बनाउन स्वदेशमै व्यावसायिक जडीबुटी खेती गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
आज चितवन एक्स्पो सेन्टरमा सञ्चालनमा आएको नेपाल फर्मा एक्स्पो-२०२२ को उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक पर्ने औषधी नेपालमा नै उत्पादन हुनुपर्नेमा जोड दिनुभयो ।
“कोभिडको समयमा पनि हामीले चुनौती व्यहोर्यौँ त्यसैले स्वदेशमै औषधी उत्पादनमा लगानी बढाउन जरुरी छ ।”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय जडीबुटी उत्पादनमा जोड दिनुपर्छ ।”
उहाँले औषधी उत्पादनलाई आत्मनिर्भर बनाउन ऐन नीति समेत परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । सर्नेभन्दा नसर्ने रोगले ठूलो जनसङ्ख्यालाई प्रभाव पारेको भन्नुहुँदै राष्ट्रपति भण्डारीले औषधी उत्पादनमा थप लगानी गर्नुपर्ने बताउनुभयो ।
निजी क्षेत्रले औषधीमा आत्मनिर्भर बनाउने सङ्कल्प गरिरहेको बेला, राज्यले पनि यसलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले औषधीमा देशलाई आत्मनिर्भर बनाउन राज्य र निजी क्षेत्रको समन्वयात्मकता भूमिकाको आवश्यक रहेको बताउनुभयो ।
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिले देशमा आयात निर्यात, बैङ्कको व्याज लगायतका क्षेत्रमा समस्या भएको भन्नुहुँदै सरकारले उद्योगमैत्री नीति ल्याउनुपर्ने बताउनुभयो ।
कोभिडले नेपालीलाई धेरै कुरा सिकाएको भन्नुहुँदै उहाँले औषधीमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्ने उहाँले जोड दिनुभयो ।

“प्रत्येक बर्ष औषधी उत्पादनमा १८ देखि २० प्रतिशत वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “औषधीमा आत्मनिर्भर बनाउन पूर्वाधार यथेष्ट थप गर्नुका साथै उद्योगमैत्री नीति आवश्यक छ ।”
कार्यक्रममा विभिन्न स्थानबाट आउनुभएका औषधी व्यवसायीले औद्योगिक क्षेत्रको विकास नभई देशले समृद्धि प्राप्त गर्न नसक्ने भन्दै उद्योगमैत्री नीति बनेमा देश दुई वर्षमै आत्मनिर्भर बन्ने बताउनुभएको थियो ।
https://ujyaalonepalnews.com/archives/19175


