२८ अर्ब बढीको सुन आयात

काठमाडौं- चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट रु २८ अर्ब ५४ करोड ९० लाख चार हजार बाहिरिएको हो ।

तथ्याङ्कानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले रु तीन अर्ब ४८ करोड तीन लाख ३० हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ । चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्याङ्क छ । युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि रु २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार बाहिरिएको छ भने सरकारले रु दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । युएईपछि टर्कीबाट रु पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ ।

केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ । विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ । अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ । गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ ।

https://ujyaalonepalnews.com/archives/19220

Previous articleनौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती
Next articleगठबन्धनमा भाग मिलेन, माओवादीले गर्यो एक्लै लड्ने तयारी, उम्मेवारको नाम सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।