
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा पुगेर उनीहरूले भोगेका समस्याहरूबारे जानकारी लिनुभएको छ ।
आइतबार काठमाडौँको वसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवास गृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग विदेशी भूमिमा नेपालीहरूले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गर्नुभएको हो ।

मन्त्री श्रेष्ठले विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने विषयलाई आफूले उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले नेपाली श्रमिकहरूको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
मलेसियामा लामो समय गैर कानुनी हैसियत भएर बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्कासन गरिएका र जेलमा रहेका गरी १० जना श्रमिकलाई उद्धार गरी नेपाल ल्याइएको थियो ।
मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्बन्धित देशको सरकारसँग कुरा गर्ने बताउनुभयो । उहाँले उद्धार गरिएका श्रमिकहरूलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सबै प्रक्रिया बुझेर जान आग्रह गर्नुभयो ।
रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि धेरै नेपाली विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।
https://ujyaalonepalnews.com/archives/19259


