भरतपुरमा एमाले र राप्रपा बिच चुनावी तालमेल हुने

उज्यालो नेपाल- चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गर्ने भएको छ । त्यसका लागि एमालेले महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी सहमति भएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति निर्देशन दिएको चितवन एमालेका नेताहरुले बताएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले महानगरमा एमालेसँग तालमेल भएको पुष्टि गरे ।

‘तालमेल हुने पक्का भयो, उपमेयरसहित केही वडाअध्यक्ष राप्रपाका हुनेछन्’, पाण्डेले भने । एमालेले तालमेलका लागि हात अघि बढाएपछि राप्रपा उपमेयरसहित वडाअध्यक्षका उम्मेदवार तय गर्न छलफलमा जुटेको छ । नेता पाण्डेले अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालबीच छलफल भइरहेको उनले बताए ।

एमालेले भरतपुरको महानगरमा यसअघि नै प्रदेश सांसद समेत रहेका विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यसअघि माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित भएको भरतपुरमा गठबन्धनका तर्फबाट पुन दाहालले नै टिकट पाएकी छन् । गठबन्धनमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनमोर्चा छन् ।

समग्र चितवनको चुनाबी गतिबिधि थाहा पाउन ” चितवनको चुनाबी चहलपहल” ग्रुपमा ज्वाईन हुनुहोला ! ज्वाईन हुन यँहा क्लिक गर्नुहोला ।

https://ujyaalonepalnews.com/archives/19287

Previous article१८ करोड राजश्व छलीको आरोपमा तीन कम्पनीका सञ्चालक र साझेदारविरुद्ध मुद्दा
Next articleराजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।