काठमाडौँ । सरकारले कुरकुरे, चिज बल, लेज जस्ता विदेशमा निर्मित खाद्यवस्तु लगायतका अन्य धेरै सामाग्रीको आयातमा बुधवारदेखि रोक लगाएको छ ।
सरकारले ३२ इन्चभन्दा माथिका रङ्गिन टेलिभिजन,जिप, कार र भ्यान त्यसै गरी २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, तास आयातमा पनि प्रतिबन्ध लगाएको छ ।
विदेशी मुद्राको सञ्चिति ६.७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यी लगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो । यसअघि बैङ्क तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी ती सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो ।
त्यस्तै, सरकारले ५८ प्रकारका रक्सी तथा रक्सीजन्य पदार्थको आयातमा समेत प्रतिबन्ध लगाएको छ ।
नेपालमा चालु आर्थिक वर्षको नौ महिनामा १५ लाख २५ हजार १९३ लिटर मदिरा आयात भएको थियो भने १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिज बल, लेज जस्ता सामग्री आयात भएको थियो ।
https://ujyaalonepalnews.com/archives/19414


