नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने भएको छ । 

टेलिकमले निकट भविष्यमा नै ई–सिम उपलब्ध गराउने सम्बन्धमा मोन्टी युके ग्लोबलबीच सम्झौता सम्पन्न गरिसकेको छ ।

टेलिकमका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टीका स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच आइतबार सम्झौता भएको हो । 
सम्झौताअनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउनेछ ।

प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकमले नयाँ–नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिमसमेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने जानकारी दिनुभयो । 

यस्तैगरी, अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कस्तो हो ई–सिम
ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । 

ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोगसँगै नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्ने टेलिकमले जनाएको छ । 

गहुँको समर्थन मूल्य निर्धारण

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो । सरकारले गत आर्थिक वर्ष ०७८÷०७९ का लागि समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ तोकेको थियो ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टल रु ५४ ले बढाएको हो । यस्तैगरी, गत आर्थिक वर्ष ०७७/०७८ का लागि रु तीन हजार १५ निर्धारण गरिएको थियो । 

सरकारले प्रत्येक वर्ष गहुँ, धान तथा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ । रासस

https://ujyaalonepalnews.com/archives/19415

Previous articleकुरकुरे, चिज बल, लेज लगायतका सामाग्रीको आयातमा रोक
Next articleराष्ट्र बैङ्कले सेवा सुरु गरेको ६६ वर्ष पुरा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।