रत्ननगर १६ मा एमालेको पार्टी कार्यालय उद्घाटन, २५ जना युवा पार्टी प्रवेश

उज्यालो नेपाल- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ मा एमालेको पार्टी कार्यालय उद्घाटन गरिएको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर स्थापना गरिएको पार्टी कार्यालयको आज एक भव्य कार्यक्रम बीच नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले  उद्घाटन गरेका हुन । पिठुवाको दोबाटो बजारमा आयोजित कार्यक्रममा एमाले केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे, रत्ननगरको मेयर पदकी उम्मेदवार बिमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव पाठक लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य मिना घलान, जिल्ला सचिव प्रकाश खनाल शैलेश, जिल्ला कमिटि सदस्य थलकुमारी परियार, कार्यबाहक वडाध्यक्ष पवित्रा गुरुङ, निवर्तमान वडाध्यक्ष तथा वडाध्यक्ष उम्मेदवार हेमराज थापा, खैरहनी ४ का वडाध्यक्ष उम्मेदवार वेद बहादुर अधिकारी, वडा सदस्य  पदका उम्मेदवारहरु विष्णु प्रसाद रिमाल, सरिता गुरुङ, रिता बि.क, धन बहादुर बोगटी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पाण्डेले गठबन्धनको सरकार आए संगै नेपालको चुच्चे नक्सा हराएको आरोप लगाए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला प्रधानमन्त्रीले भारतिय पक्षसंग नेपाली अतिक्रमित भूभाग बारे कुनै प्रश्न गर्न नसकेको पाण्डेले बताए । रत्ननगर र समग्र चितवनको विकासको लागी आफुले केन्द्रमा पहल गरिरहेको उल्लेख गर्दै पाण्डेले पिठुवाको हात्तीगाड़े-कुनाघारी जोड्ने कयरखोलाको पक्की पुल निर्माणको लागी ठेक्का लागेर काम सुरुहुने चरणमा पुगेको जानकारी दिए । एमालेकै अगुवाईमा कयर खोलाको दुवैतर्फ भुत्याहा देखि सौराहा सम्म बाँध बनाउने काम भईरहेको उनको भनाई छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २५ जना युवाहरु एमाले प्रवेश गरेका छन् ।  प्रवेश गरेकाहरुलाई प्रमुख अतिथि पाण्डे, विशिष्ट अतिथि तथा मेयर पदका उम्मेदवार बिमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव पाठक लगायतले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

निर्वाचन परिचालन कमिटि संयोजक नगेन्द्र उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा नगर कमिटि सदस्य सनम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नगर कमिटि सचिवालय सदस्य सिता नेपालले संचालन गरेकी थिइन् ।  कार्यालय उद्घाटन संगै उम्मेदवार सहित घरदैलो अभियान समेत सुरु गरिएको छ ।

 

 

https://ujyaalonepalnews.com/archives/19578

Previous articleसुनको मूल्य तोलाको ९९ हजार
Next articleसत्र जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।