निराजन घिमिरे, वैशाख २१- चितवनको रत्ननगर नगरपालिकाको वडा नं. १५ मा एमालेका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका आशिक तामांगले वडालाई सुखी र समृद्ध बनाउन विभिन्न योजना अघि सरेका छन् । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरेर तामांगले समग्र वडाको समृद्धिको परिकल्पना गर्दै विभिन्न योजनाहरु अघिसारेका छन् ।
स्थानिय निर्वाचनमा आफु विजयी भएमा सबैभन्दा पहिला उनले वडाकार्यालय बाट प्रदान गरिने सेवालाई चुस्त दुरुस्त बनाउने योजना बनाएका छन्। सेवाग्राहीलाई एकद्वार प्रणाली बाट सेवा प्रदान गर्ने, प्रदान गरिएको सेवाको अनलाईन रेकर्ड राख्ने, फोटोकपी, निवेदन, फारम, लेखापढी जस्ता सेवा नि:शुल्क उपलब्ध गराउने, कार्यालय हाता भित्र पिउनेपानी, स्तनपान कक्ष, विश्राम स्थल निर्माण गर्ने काम गर्ने उनले बताएका छन् ।

त्यस्तै सामुदायिक विद्यालयमा शिशु कक्षा बाटै अंग्रेजी माध्यममा अध्यापन गराई शिक्षाको गुणस्तरमा वृद्धि गर्ने, कमजोर विद्यार्थीहरुलाई नि:शुल्क अतिरिक्त कक्षा संचालन गर्ने, स्मार्ट लाईब्रेरी तथा कक्षाकोठाको निर्माण गर्ने, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गर्ने उनले जनाएका छन् ।
त्यसैगरी ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्ग नागरिकहरुलाई प्रत्येक ६/६ महिनामा घरघर पुगेर स्वास्थ्य परिक्षण गर्ने, नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने, एम्बुलेन्स संचालन गर्ने, विपन्न सुत्केरी आमा तथा शिशुहरुलाई स्वास्थ्य उपचार र पौष्टिक आहारको व्यवस्था गर्ने उनले आफ्नो घोषणा पत्रमा जनाएका छन् ।
वडास्तरिय खेलकुद तथा शारीरिक व्यायाम क्लब गठन गर्ने, खेल मैदान तथा कभर्डहल निर्माण गर्ने, मठमन्दिरको संरक्षण गर्ने, भूमिगत सिंचाईको व्यवस्था गर्ने, कृषकलाई उन्नत जातका विउविजन वितरण गर्ने, शितभण्डारको निर्माण गर्ने, सडकहरुमा ढल सहितको कालोपत्रेको व्यवस्था गर्ने, बालउधान निर्माण गर्ने, युवाहरुलाई सिपमुलक तालिमहरुको आयोजना गरि स्वरोजगार हुन अभिप्रेरित गर्ने, सार्वजनिक शौचालय तथा वृद्ध मिलन केन्द्रको निर्माण गर्ने, जस्ता कार्यक्रम उनको घोषणापत्रमा समेटिएको छ ।
पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सफल नेतृत्व गरेर स्थानिय बीच निकै लोकप्रिय बनेका तामांगले आफु निर्वाचित भएर आएपछि जनताको कुनै गुनासो नरहनेगरी कम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
https://ujyaalonepalnews.com/archives/19722


