रत्ननगरमा गठबन्धनका उमेदवारहरुलाई स्थानीयको स्वागत

रत्ननगर । रत्ननगरमा गठबन्धनको घरदैलोमा उमेदवारहरुलाई स्थानीयबासीले स्वागत गरेका छन् । । गठबन्धनबाट रत्ननगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रलाद सापकोटा र उपमेयर पदमा नेकपा (एकीकृत समाजवादी)का बद्रिनाथ घिमिरे चुनावी मैदानमा उत्रिएका छन् । रत्ननगरमा गठबन्धनको घरदैलो कार्यक्रम तीव्र बनिरहँदा स्थानीयवासीको स्वागतले उमेदवारहरु दङ्ग परेका छन् ।

गठबन्धनका उमेदवारहरु जहाँ पुग्छन् त्यहाँ स्थानीयले फूलमाला र अबिरले स्वागत गर्ने गरेका छन् । नगरवासीको दाजुभाइ, दिदीबहिनीको उत्साह देखेर मेयर पदका उमेदवार प्रलाद सापकोटा भन्छन्, ‘स्थानीयवासीले नगरको विकासमा हामीप्रतिको आशा र भरोसा देखिएकाले नै उहाँहरुले हामीलाई आशीर्वादसहित स्वागत गरिरहनु भएको छ ।’ सापकोटाले स्थानीय निर्वाचनमा आफूहरु निर्वाचित भएर आउँदै गर्दा आफूले गरेका प्रतिबद्धता र स्थानीयवासीको भरोसा कुनै पनि हालतमा टुट्न नदिने बताए ।

उनले अहिलेको स्थानीय निर्वाचन अवसर र चुनौती दुवै लिएर आएको बताउदै अब नगर बनाउन लाग्ने बेला आएकाले यो र त्यो नभनी सपना बाँड्नेसँग होइन, काम गर्नेसँग स्थानीयको सरोकार रहने जिकिर गरे । उनले आफू कुराभन्दा पनि काम गर्ने व्यक्ति भएकाले यस पटकको निर्वाचनमा आफूलगायतको गठबन्धनलाई जिताएर समृद्ध रत्ननगर बनाउने चाहना पूरा गर्ने अवसर प्रदान गर्न सबै रत्ननगरबासीलाई आग्रह पनि गरे ।

उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेले अहिलेको निर्वाचन संविधानको रक्षा र सुशासनका पक्षधरहरुको एकता भएकाले गठबन्धनलाई मतदान गर्न आग्रह गरे । रत्ननगर नगरपालिकामा आगामी पाँच वर्ष व्यर्थमा खेर जान नदिन र नगरवासीको समृद्धिको पक्षमा काम गर्न गठबन्धनका उमेदवारलाई जिताउन अपिल गरे ।

https://ujyaalonepalnews.com/archives/19815

Previous articleआगलागीमा करिब तीन करोड बराबरको क्षति
Next articleरत्ननगरमा मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।