मन्त्री श्रेष्ठसमक्ष प्रतिवेदन पेश

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठसमक्ष शुक्रवार समस्या ग्रस्त सहकारी संस्था सम्बन्धी प्रतिवेदन बुझाएको छ ।

समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थामध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्तको पालना गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा माग दाबीकर्ताहरूलाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गर्नु भयो ।

मन्त्री श्रेष्ठ सहकारीहरूमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागि पर्नुपर्नेमा जोड दिँदै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।

सहकारी संस्थाहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तले स्व–उत्तरदायी, इमानदारी, पारस्परिक सहयोग जस्ता अवधारणलाई आत्मसाथ गरी सहकारीमा सुशासन प्रवर्द्धन गर्ने कानुनी जिम्मेवारी विपरीत हुने गरी कार्य गरेको कारण सहकारी संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष समितिले निकालेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/19823

Previous article५३ बोरा युरिया मलसहित एक जना पक्राउ
Next articleविद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आह्वान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।