Home Uncategorized मेरो विजय सुनिश्चित छ ! – विमला दुवाडी

मेरो विजय सुनिश्चित छ ! – विमला दुवाडी

चितवन – एमालेबाट रत्ननगर नगरपालिकाको मेयरमा उमेदवारी दिएकी विमलादेवी दुवाडी भोट माग्न जनताको घरदैलोमा पुगेकी छन्। पाँच वर्ष उपमेयर भएर कार्यानुभव बटुलेकी दुवाडी निर्वाचन जित्ने दृढ विश्वासका साथ नगरबासीको घरदैलोमा पुगेकी हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा नगर परिषद्को सदस्यमा निर्वाचित भएकी दुवाडी २०७४ सालमा रत्ननगरको उपमेयर भइन्। २०६० सालदेखि मेलमिलापकर्ताको रूपमा काम गरेर न्याय सम्पादनमा अब्बल दुवाडी अहिले पनि जिल्ला अदालतको मेलमिलापकर्ताको सूचीमा छिन्।
२०४३ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय दुवाडी सोही वर्ष अखिल नेपाल महिला संघको सदस्य बनेकी थिइन्। २०४७ मा पार्टी सदस्यता लिएकी उनी २०५५ मा एमालेको संगठिन सदस्यता भइन्। २०६० सालदेखि एमालेको वडा कमिटी सदस्यबाट नगर कमिटी सदस्य, क्षेत्रीय कमिटीको सचिवालय सदस्य, क्षेत्रीय उपसचिव हुँदै अहिले जिल्ला कमिटी सदस्य हुन्। अखिल नेपाल महिला संघ चितवनको सदस्य, सचिव, उपाध्यक्ष हुँदै दुवाडी अहिले जिल्ला अध्यक्ष हुन्। रत्ननगरको विकासको सेरोफेरोमा रहेर दुवाडीसँग इ–चितवनपोष्ट डटकमका लागि सहकर्मी होमनाथ सापकोटाले गरेको साक्षत्कार :
प्रश्न : रत्ननगरका मतदातासँग कस्तो एजेण्डा लिएर जानुभएको छ?
उत्तर : एमालेको नेतृत्वबाट मात्रै विकास सम्भव छ, भन्ने कुरा आम मतदाताहरूले बुझ्नु भएको छ। हामी स्पष्ट योजनाका साथ जनताको घरदैलोमा पुगेका छौं। यो पाँच वर्ष पनि रत्ननगर नगरपालिकामा एमालेले नै सरकार चलाएको हो। यो अवधिमा हामीले नगर विकासका थु्रपै रचनात्मक काम गरेका छौं। वृद्धवृद्धालाई घरमै उपचार, निःशुल्क एम्बुलेन्स, किसानलाई अनुदानमा गाई, सुत्केरी पशुलाई भत्ता, ट्याक्टर खरिदमा ५० प्रतिशत अनुदान, सिंचाइका लागि मोटर वितरण, रोजगारी सिर्जना गर्न विना धितो विना व्याज कर्जा लगानी गरेका छौं, यसलाई निरन्तरता दिँदै नगर विकासको लागि थप काम गर्ने योजना बनाएकी छु। झुवानीमा शिलान्यास गरिएको वाटर किङडम निर्माण सम्पन्न गर्ने छु। वडा नं.१२ मा इन्जिनियरिङ कलेज सञ्चालन गर्नेछु। टिकौलीमा कृष्णसार ल्याउने योजनालाई निर्वाचित भएलगतै पूर्णता दिनेछु। सौराहाको पर्यटनलाई व्यवस्थित गर्दै निकुञ्ज टिकटलाई तीन दिनको बनाउने छु। सफारीको लागि प्रयोग हुने हात्ती चरनको लागि निकुञ्जसँग सहकार्य गरेर अगाडि बढाउने योजना छ।
प्रश्न : निर्वाचन जित्ने आधार के–के छन्?
उत्तर : धेरै छन्। पाँच वर्ष उपमेयर भएर गरेको काम नै निर्वाचन जित्ने मेरो पहिलो आधार हो। न्यायिक समितिको संयोजक भएर सयौं मान्छेलाई न्याय दिलाएको छु। म दावाका साथ भन्छु न्यायका लागि लड्ने म चितवनकै पहिलो महिला हुँ। रत्ननगरमा एमालेले बनाएको प्रतिबद्धतापत्रमा समावेश गरेका विषयहरू नै निर्वाचन जित्ने आधार हुन्। एमाले अहिले पनि जनतामाझ लोकप्रिय पार्टी हो। वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने पार्टीको रूपमा स्थापित एमालेबाट मैले मेयर पदमा उमेदवारी दिएकी छु। नगरवासी सूर्यमा मतदान गर्न आतुर हुनुहुन्छ।
प्रश्न : निर्वाचन जितेपछि तपाईंले गर्ने पाँच मुख्य काम के–के हुन्?
उत्तर : सुरूमा सुकुमबासीलाई लालपुर्जा वितरण गर्नेछु। हामीले केहीलाई निस्सा वितरण गरिसकेका छौँ। अब निस्सा होइन रातो पुर्जा दिनुपर्छ। दोस्रो कुरा सौराहामा पर्यटकीय बसपार्क बनाउने छु। सेवाको गुणस्तर सुधारसँगै सौराहामा पूर्वाधारको अभाव छ। सौराहामा सूचना केन्द्र स्थापनादेखि सडक विस्तारलाई प्राथमिकता दिएर काम गर्नेछु। गरिब तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्नेछु। वृद्धवृद्धालाई घरमै उपचार गर्ने कामको सुरूवात गरिसकेका छौँ। अब महिलाहरूको प्रजनन् स्वास्थ्यको उपचारको लागि निःशुल्क व्यवस्था मिलाउने छु। मातृशिशु अस्पताल एक वर्षभित्र सञ्चालनमा ल्याउने छु। नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्नेछु।
प्रश्न : एमालेमा फुटको असर छ, यसले तपाईंको विजय यात्रामा अवरोध गर्ने सम्भावना कति छ?
उत्तर : एमालेमा फुटको अवसर नदेखिएको होइन। तर, एमाले स्थापित पार्टी पनि हो। यो पार्टीप्रति जनताको आर्कषण उत्तिकै छ। २०७४ सालमा मैले सानदार मत प्राप्त गरेरै उपमेयर बनेकी हुँ। यो नगरमा म नेताभन्दा पनि न्यायमूर्तिको रूपमा चिनिएकी छु। पाँच वर्ष उपमेयर भएर काम गर्दा मैले पार्टी हेरेर कसैलाई भेदभाव गरिनँ। त्यही कारणले पनि सबै दलमा आस्था राख्ने मतदाताहरूले मलाई मतदान गर्नु हुनेछ।
प्रश्न : गठबन्धनभन्दा म बलियो छु भन्ने आधारलाई कसरी पुष्टि गर्नुहुन्छ?
उत्तर : पार्टीगतरूपले हेर्दा अहिले गठबन्धनबाट उमेदवार बन्नुभएका नेता र म प्रतिस्पर्धी हौँ। तर सम्बन्धको हिसाबले हामी आमा–छोरा हौं। हामीमा एकदमै निकटता छ। पार्टीले अघि सारेपछि निर्वाचन लड्नु पर्दोरहेछ। हामी दुवैमा सदभाव छ। मैले निर्वाचन जित्ने लगभग पक्कापक्की जस्तै छ। प्रतिस्पर्धीलाई कमजोर आंकलन गर्न मैले मिल्दैन। मेरो तर्फबाट भन्नुपर्दा अहिलेसम्म मैले आफ्नो प्रतिस्पर्धी नै देखेको छैन।

https://ujyaalonepalnews.com/archives/19926

Previous articleनीति तथा कार्यक्रम र बजेटमा खाना पकाउने ऊर्जाको प्राथमिकता
Next articleकाठमाडौँसहित उपत्यकामा मदिरा बिक्री वितरण एवं सेवनमा निषेध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।