कतारद्वारा नेपाललाई अक्सिजन उत्पादन गर्ने ट्याङ्कर हस्तान्तरण

काठमाडौँ । कतारले नेपाल सरकारलाई अक्सिजन उत्पादन गर्ने ट्याङ्कर हस्तान्तरण गरेको छ । 

नेपाल सरकारलाई अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सिजन उत्पादन गर्ने ट्याङ्कर उपलब्ध गराएको हो  । 

कतारका तर्फबाट नेपालका लागि कतारका राजदूत युसुफ  मोहम्मद अल हैलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई अक्सिजन उत्पादन गर्ने ट्याङ्कर हस्तान्तरण गर्नुभयो । 

अक्सिजन ट्याङ्कर ७ लाख ४५ हजार कतारी रियाल अर्थात् २ करोड ४६ लाख नेपाली रूपैया बराबरको हो । 

कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्याङ्करको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्नुहुँदै राजदूत अल–हैलले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो । 

उहाँले कतार सरकार कोरोना महामारीसँग जुध्न सदैव नेपाल सरकारको साथमा रहको बताउनुभयो ।

ट्याङ्कर हस्तान्तरणको कागजात बुझ्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.पोखरेलले कतार सरकारले महामारीसँग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिनुभयो । 

उहाँले कतार सरकारले नेपाली नागरिकलाई रोजगारी प्रदान गरेर र आवश्यक परेको समयमा विभिन्न सामग्री उपलब्ध गराएर जुन खालको सहयोग गरिरहेको छ त्यसको नेपाल सरकारले उच्च मूल्याङ्कन गरिरहेको बताउनुभयो । 

अक्सिजन ट्याङ्कर मकवानपुरको हेटौँडामा रहेको हेटौँडा अस्पतालमा इन्स्टल गरेर अक्सिजन उत्पादन पनि सुरु भइसकेको सचिव डा.पोखरेलले जानकारी दिनुभयो ।

 

नेपालका लागि सहयोग स्वरूप अक्सिजन ट्याङ्कर पठाउने क्रममा कतार फण्ड फर डेभलपमेन्टका कार्यकारी महानिर्देशक खलिफा बिन जासिम अलकुवरीले दिगो विकास लक्ष्यमा उल्लेख तेस्रो नम्बरको लक्ष्य हासिल गर्न नेपाल सरकारलाई कतार सरकारको साथ सधैँ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

कतार फण्ड फर डेभलपमेन्टले यसअघि पनि कोरोना महामारीसँग जुध्न विभिन्न खाले स्वास्थ्य सामग्री, भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । 

https://ujyaalonepalnews.com/archives/19981

Previous articleदुनाटपरी बेचेर मनग्य आम्दानी
Next articleदोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।