सरकारको नीति तथा कार्यक्रम जेठ १० गते राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुहुने

file photo

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते मङ्गलवार दिनको ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।   

यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ वटा अध्यादेशहरू स्वीकृत भएका छन् । 

गृह मन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयो । 

गृहमन्त्री खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । 

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ लाई स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले “रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गर्नुभयो । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको सभामुखले घोषणा गर्नुभयो । 

https://ujyaalonepalnews.com/archives/20441

Previous articleअमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ
Next articleडलरको सञ्चिती सन्तुलित अवस्थामा छ : अर्थमन्त्री शर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।