मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशको विकास र योजना सम्बन्धमा ध्यानाकर्षण

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेशको विकास र योजना सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत समुन्नत राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

ध्यानाकर्षण पत्र ग्रहण गरेपछि प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले ध्यानाकर्षण पत्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने र सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन दिनुभएको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

ध्यानाकर्षण पत्रमा मुख्यमन्त्री पोखरेलले उत्तर गङ्गा जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनमा ल्याउन, बुढीगण्डकी जलविद्युत आयोजना चालु आवबाट नै सुरुआत गर्ने गरी कार्य अगाडि बढाउन, मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माणको योजना समेट्न, गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जनाउनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/20476

Previous articleसमग्र वित्तीय प्रणालीको आकार ८२ खर्ब बराबर
Next articleरत्ननगर १६ का कुन उम्मेदवारले कति मत पाए ? कसको कसको भयो जमानत जफत ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।