जालेबगर सडक पुनर्निर्माणमा ढिलाइ : राजमार्ग बन्द हुने चिन्ता

बझाङ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत जालेबगरमा सडक पुनर्निर्माणमा ढिलाइ हुँदा बेमौसमी बाढीले राजमार्ग बगाएपछि गत कात्तिक महिनाभर यातायात सम्पर्क विच्छेद भएको बझाङ जिल्लामा फेरि उस्तै अवस्था दोहोरिने सङ्केत देखिएको छ । 

बाढीले बगाएको जयपृथ्वी राजमार्गको छबिसपाथिभेरा गाउँपालिकामा पर्ने जालेबगर खण्ड पुनर्निर्माणमा ढिलासुस्ती हुँदा जिल्ला नै यातायात विहीन हुने खतरा बढेको हो । 

जालेबगर खण्डमा गत कात्तिकमा सेती नदीको बाढीले करिब ४ सय मिटर सडक पूर्ण रुपमा बगाएको थियो । सडक बगाएपछि कात्तिक महिनाभर बझाङ सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिका, सुर्मा, तलकोट, मष्टा, साइपाल, खप्तडछान्ना र छबिसपाथिभेरा गाउँपालिका यातायात सम्पर्कबाट विच्छेद भएको थियो ।

कात्तिक अन्तिमतिर सेती नदीको धार फर्काएर अस्थायी रुपमा सडक सञ्चालन गरिएको थियो । यद्यपि हिउँ पग्लिने मौसम सुरु भएपछि सेतीको सतह बढेर अस्थायी रुपमा बनाइएको सडक नजिक पुगिसकेको छ । हिउँ पग्लिने क्रम बढेको र वर्षा पनि सुरु भइसकेकाले केही दिनभित्रै अस्थायी सडक बाढीले बगाउने निश्चित भएको प्राविधिकहरूको भनाई छ । 

“वैशाखभित्रै स्थायी सडकको काम सम्पन्न गर्न सकिएन भने आउने असोजसम्मै बझाङ जिल्ला यातायातविहीन हुने निश्चितजस्तै भइसकेको छ ।” इन्जिनियर हरिशंकर जोशीले भन्नुभयो, “सेतीमा बाढी आउन थालिसकेको छ । नदीको सतह बढेपछि निर्माणको काम पनि बन्द हुन्छ । कात्तिकको भन्दा ठूलो समस्या अब हुन सक्छ ।” 

उहाँले वैशाखभित्र काम सम्पन्न हुन नसके सेती नदीको सतह बढ्दै जाने र जेठदेखि ५÷६ महिनासम्म जिल्लाभर नै यातायात सम्पर्क विच्छेद हुनसक्ने बताउनुभयो । 

गत कात्तिकमा यही सडक बगाएपछि बझाङको यातायात सेवा महिना दिनसम्म ठप्प भएको थियो । यातायात अवरुद्ध हुँदा यहाँ औषधि, खाद्यान्न, ग्याँस, तेलजस्ता अत्यावश्यक सामग्रीको अभाव र अस्वाभाविक मूल्यवृद्धि भएको थियो भने जिल्ला बाहिर जाने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । 

अस्थायी रुपमा गाडी सञ्चालन गर्न हाल बनाइएको ड्राइभर्सनभन्दा करिब १ सय मिटर पश्चिमतिरको कडा चट्टान फोरेर स्थायी सडक निर्माणको काम पुस महिनामै सुरु भए पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदा फेरि उस्तै समस्या दोहोरिने सम्भावना बढेको छ । 

५ करोड ५० लाख रुपैयाँ लागतमा वैशाख मसान्तभित्रै सडकको पुनर्निर्माण सम्पन्न गर्ने गरी ड्रागन, जगदम्बा, सुर्मासरोवर जेभीसँग गत पुसमा ठेक्का सम्झौता भएको उक्त सडक खण्डको ८० मिटर भाग कडा चट्टानी रहेको र उक्त खण्डमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको छ । 

रक्षा मन्त्रालयमार्फत उपलब्ध हुने विस्फोटक पदार्थ ल्याउन ढिलाइ भएकोले काममा ढिलाइ भएका निर्माण व्यवसायीले बताएका छन् । ठेक्का सम्झौता अनुसारका आरसिसी पर्खाल, ग्याबिन जाली भर्ने काम र प्लम्बरको कामलगायत संरचना निर्माणको काम समयमै सम्पन्न हुने भए पनि विस्फोटक पदार्थ उपलब्ध नहुँदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माण व्यवसायीको भनाइ छ । 

माघमै विस्फोट पदार्थ ल्याउन सहजीकरण का लागि जानकारी गराउँदा पनि प्रमुख जिल्ला अधिकारीले सहजीकरणमा तत्परता नदेखाएको ठेकेदार कम्पनीका प्रतिनिधि शेरबहादुर बोहराले बताउनुभयो । तर उहाँको भनाई निराधार रहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निर्माण व्यवसायीकै कारण विस्फोटक पदार्थ आउन नसकेको बताउनुभयो । आफूले सहजीकरण गर्ने मात्रै नभएर छिटो काम गर्नका लागि पटक पटक ताकेता गर्दा पनि ठेकेदारले वास्ता नगरेको उहाँले बताउनुभयो ।

“हामीले ४÷४ पटक निर्णय गरेर सिफारिस पठाइसकेका छौँ । सरकारी प्रक्रियामा कतै अवरोध भए मन्त्रालयमा म सहजीकरण गर्छु छिटो ल्याउनुस् भन्दा मान्नु भएको छैन । पटक पटक ताकेता गर्दा मेरो कुरा नसुन्ने कता कता राजनीति गर्न जाने अहिले मलाई सिफारिस दिएन भनेर आरोप लगाउने ?” प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “वर्षा सुरु हुन लागिसक्यो भनेर ताकेता गरेको गर्यै छु । ठेकेदारले वास्ता गरेको छैन । अब १०/१५ दिनपछि काम सुरु गरे पनि समय छ । उताबाट पत्र आइसकेको छ । अब काम सुरु गर्ने काम ठेकेदारको हो”

तटबन्धनको आसामा आमबगरबासी

यता तटबन्धन निर्माण गरिदिने आश्वासन पाएर सेती नदीको धार परिवर्तन गर्न दिने आमबगरबासी पनि वर्षा सुरु हुँदासम्म पनि काम थालनी नहुँदा फेरि घर खेत बग्ने चिन्तामा परेका छन् । 

गत कार्तिक २३ गते सर्वदलीय सर्वपक्षीय बैठक बसी कार्तिक २४ गते जालेबगरमा सडक खुलाउन आमबगरतर्फ सेती नदी डाइभर्सन गरिएको हो । 

सबै नदीको भार आमबग तर्फ भएकाले पानी सतह बढ्दै जाँदा आमबगरबासीलाई चिन्ता छाएको स्थानीय विश्वप्रकाश जोशीले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/20560

Previous articleजलयात्रा बिस्तार गर्दै पोखरा पर्यटन परिषद्
Next articleभैरवीका जनप्रतिनिधिले कार्यकक्षमा टाँसे प्रतिवद्दताको तमसुक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।