बिरामीको यातायात खर्च दोब्बर गर्ने, अनुत्पादक खर्च कटौती गर्ने भद्रपुर नगरपालिकाको निर्णय

भद्रपुर, झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाका नवनिर्वाचित गणेश पोखरेल र उपप्रमुख राधा कार्कीसहित नवनिर्वाचित जनप्रतिनिधिहरूले आज एक समारोहका बीच पदभार ग्रहण गर्नुभएको छ । 

प्रदेश नं १ का भूमि व्यवस्था तथा सहकार मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा नगरपालिकाको सभाहलमा आयोजित समारोहका बीच पदभार ग्रहण गर्दै नवनिर्वाचित नगरप्रमुख पोखरेलले नगरपालिकाको कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गरी कार्यालयबाट सम्पादन भएका सेवा र कार्यहरूको सम्बन्धमा नागरिक एवम् सेवाग्राहीहरूबाट प्रतिक्रिया लिने कार्य शुरुआत गरिने, सरकारले पहिचान गरेका एक लाख रुपैयाँसम्मको उपचार सहुलियत प्राप्त गर्ने गम्भीर प्रकृतिका रोग लागेका बिरामीका लागि नगरपालिकाबाट हाल उपलब्ध गराउँदै आएको यातायात खर्च ५ हजार लाई दोब्बर गरी १० हजार उपलब्ध गराउने र क्रमशः सो रकम वृद्धि गर्दै ५० हजारसम्म पुर्‍याइने घोषणा गर्नुभयो । 

त्यस्तै नगरपालिकामा रहेका हलुका सवारीसाधन, मोटरसाइकल र अन्य सवारीसाधनहरूको प्रयोग, उपयोगिता र उपादेयता सम्बन्धमा अध्ययन गरी सवारीसाधनमा हुने अनुत्पादक खर्च कटौती गरिने उहाँले बताउनु भयो । सो सम्बन्धमा १५ दिनभित्र सुझाव पेश गर्नका लागि अधिकृत खेमराज प्रसाईँको संयोजकत्वमा लेखा अधिकृत सुभाष भट्टराई र अधिकृत गणेश श्रेष्ठ रहेको अध्ययन समिति गठन गर्ने निर्णय गरिएको पोखरेलले बताउनुभयो ।

भद्रपुरमा नवनिर्वाचित ५२ जना जनप्रतिनिधिले शपथ लिँदै आजैदेखि पदभार ग्रहण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिनु भयो ।

https://ujyaalonepalnews.com/archives/20585

Previous articleनेपाल टेलिभिजनका पत्रकार राई पुरस्कृत
Next articleमन्त्रिपरिषद्को बैठकद्वारा सरकारको नीति तथा कार्यक्रम पारित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।