पुर्चौडीमा सहिद परिवारलाई राहत, ज्येष्ठ नागरिकको घरमै उपचार

बैतडी। पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ । नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन् ।

प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारलाई सम्मानस्वरुप प्रतिपरिवार वार्षिक एकमुष्ट रु २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने तथा घाइतेका लागि निःशुल्क उपचार हुने गरी स्वास्थ्य बिमा गर्ने निर्णय भएको नगरप्रमुख बमले जानकारी दिनुभयो ।

यस्तै नगरपालिकाभित्र सञ्चालित विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अध्ययन निःशुल्क गर्न विद्यार्थीको भर्ना तथा पठनपाठन शुल्कवापतको रकम शोधभर्ना गर्ने निर्णय गरिएको छ । नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चौडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९/८० को साउनदेखि एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सञ्चालन गर्ने निर्णय पगरेको छ ।

यसैगरी ज्येष्ठ नागरिक तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ । पुर्चौडी नगरपालिकाका १० वटै वडामा विद्युत् विस्तार कार्य प्रारम्भ गरी दुई वर्षभित्र उज्यालो पुर्चौडी घोषणा गर्ने निर्णय गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/20661

Previous articleमतगणनाको क्रममा भएको क्षति र फोहरका कारण विद्यालयको पढाई अवरुद्ध
Next articleबागमती प्रदेशको निकायमा ७२ करोड बेरुजु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।