जुम्लामा १५ सय किलोवाटको सोलार प्लान्ट जडानको तयारी 

जुम्ला  । जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगे पनि नियमित रुपमा विद्युत् आपूर्ति नहुँदा विकल्पका रुपमा सोलार प्लान्ट जडान गर्ने तयारी भएको छ । 

चन्दननाथ नगरपालिका–३ स्थित घुघुती पावर हाउस नजिक सोलार प्लान्ट राख्ने तयारी भएको हो  । 

जुम्लामा नियमित रुपमा विद्युत् आपूर्ति हुन नसकेपछि विकल्पका रुपमा सौर्य ऊर्जाको व्यवस्थापन गर्न लागिएको छ । विद्युत् आपूर्तिलाई थप सहज बनाउन १५ सय किलोवाट क्षमताको सोलार प्लान्ट राख्न थालिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो । 

उहाँका अनुसार चन्दननाथ नगरपालिका–३ स्थित खोपचौर र घुघुत्ती पावर हाउस नजिकको जग्गामा सोलार प्लान्ट राख्न लागिएको छ । सोलार प्लान्टबाट बिजुली निकाल्नका लागि अन्तिम प्रयत्न भइराखेको छ । 

“नेपाल विद्युत् प्राधिकरण काठमाडौँबाट पीएमडी शाखाबाट तीन जना इन्जिनियरको टोली जुम्ला पुगेर फर्किसकेको छ । प्लान्ट राख्न एक स्थान छानेर फर्किएको छ । चाडै सोलार जडान र बत्ती उत्पादन गरी वितरण गरिने छ ।”, प्रमुख रावलले भन्नुभयो ।

यहाँको चन्दननाथ नगरपालिकामा ७ सय किलोवाट बिजुली खपत हुन्छ । १५ सय किलोवाट सोलार प्लान्ट स्थापना भए पश्चात् नगरबासीलाई बिजुली आपूर्तिमा निकै राहत मिल्ने केन्द्र प्रमुख रावलले बताउनुभयो । 

जुम्ला सदरमुकाम खलङ्गासम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान भइसकेको छ । तर नियमित विद्युत् आपूर्ति नहुने, पावर नआउने, समस्या छ । दैलेख, दुल्लु, कालिकोट हुँदै जुम्ला पुगेको ११ केभी विद्युत् प्रसारण लाइन पुगे पनि उपभोक्ताले आवश्यकता अनुसार बत्ती उपभोग गर्न पाएका छैनन् । महिनामा दुई हप्ता बत्ती नआएकै बित्ने गरेको छ । 

सोलार प्लान्ट राख्न सुरु भएपछि नियमित रुपमा बिजुली बाल्ने जुम्लावासीको धोको पूरा हुने आशा गरिएको छ । 

स्थानीय दलबहादुर खत्रीले राष्ट्रिय प्रसारण लाइन जुम्ला पुगे पनि जुम्ला बिजुली विहीन हुने गरेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय प्रसारण लाइन भरपर्दो छैन । जुम्लाबासीसँग उज्यालोको कुनै विकल्प छैन । सौर्य ऊर्जाको व्यवस्थापन हुन सकेमा विद्युत् अभाव हट्ने अपेक्षा छ ।”

सदरमुकाम खलङ्गामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि गाउँका विकट बस्ती अझै पनि अँध्यारोमै बस्न बाध्य छन् । खलङ्गामा १५ सय किलोवाट क्षमताको सौर्य ऊर्जा जडानका लागि कर्णालीका पूर्व कानुन मन्त्री नरेश भण्डारीले विद्युत् प्राधिकरण सँग पहल गरेका थिए । 

https://ujyaalonepalnews.com/archives/20666

Previous articleस्थानीय तहको निर्वाचनले दलहरुलाई सचेत गराएको छ : उपसभापति खड्का
Next articleनीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।