हराइरहेको तारा एयरको जहाजमा अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार जहान

गोरखा : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता भएपछि गोरखाको सहिदलखन गाउँपालिका-५ को तीनमाने गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेशनारायण श्रेष्ठको परिवारका चार जना सदस्य सवार रहेका छन्।

जहाज बेपत्ता भएको खबरसँगै गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेका छन्। टोलीले घटनाको बारेमा राम्ररी बुझेर गाउँबासीलाई गराएको जानकारीलाई नै आधिकारिक मान्ने भनेर गाउँका बासिन्दा पोखरा जाने टोलीसित सम्पर्क गरिरहेका छन्।

‘सञ्चार माध्यमको समाचारले हामी स्तब्ध भएका छौं। तर औपचारिक जानकारी हामी गाउँपालिकासित मात्र लिने छौं,’ स्थानीय राजेश श्रेष्ठले भने, ‘उहाँहरुको दुखद खबर नआओस् भन्ने प्रतीक्षामा छौं। यदि पुष्टि भइहाले कसरी व्यवस्थापन गर्ने भन्ने तयारी छलफल गरिरहेका छौं।’

सोही जहाजको टिकट काटेको र जहाज चढ्नुअघि अमेरिकामा रहेका छोरासित सम्पर्क भएको आधारमा श्रेष्ठ परिवार उक्त जहाजमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए।

सो विमानमा ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उनकी श्रीमती ४८ वर्षकी रश्मि श्रेष्ठ, छोरीहरु २० वर्षकी रविना श्रेष्ठ र २३ वर्षकी रोजिना श्रेष्ठ थिए। अध्ययनको शिलशिलामा अमेरिका गएका छोरीहरु नेपाल आएका बेला सपरिवार मुक्तिनाथ भ्रमण गएको परिवार स्रोतले जनाएको छ।

https://ujyaalonepalnews.com/archives/20873

Previous articleम्याग्दीमा फौजी कीराको समस्या
Next articleबजेटमा कर्णालीः कार्यक्रम राम्रो, कार्यान्वयनमा शङ्का
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।