
चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालु आर्थिक बर्ष २०७८÷०७९ मा ६४ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार चालु आवको २०७८/०७९को साउन देखि वैशाखसम्म कुल ६४ करोड ३५ लाख ४४ हजार ६२५ रुपैयाँ आम्दानी गरेको हो ।
कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारी साधन कर, सवारी दस्तुर र आयकर शीर्षकबाट आम्दानी गर्दै आएको छ ।
सबैभन्दा बढी राजश्व सङ्कलन चैत महिनामा
कार्यालयले सबै शीर्षक गरी चालु आवको साउनदेखि वैशाख महिनाको अवधिमा सबैभन्दा बढी राजश्व सङ्कलन चैत्र महिनामा गरेको छ भने सबैभन्दा कम वैशाख महिनामान गरेको छ ।
जसअनुसार चैत्र महिनामा ८ करोड ७६ लाख ४४ हजार २२ रुपैयाँ राजश्व सङ्कलन भएको थियो भने वैशाख महिनामा ३ करोड ५७ लाख ५१ हजार २६० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
कार्यालयले साउन महिनामा ७ करोड ८२ लाख ५३ हजार ३८० रुपैयाँ, भदौ महिनामा ४ करोड ५४ लाख ४६ हजार ४६६ रुपैयाँ , असोज महिनामा ६ करोड ३५ लाख ८७ हजार ९८४ रुपैयाँ, कार्तिक महिनामा ६ करोड ७६ लाख ९६ हजार ४९८ रुपैयाँ सङ्कलन गरेको छ ।
यसैगरी, कार्यालयले मङ्सिर महिनामा ७ करोड २१ लाख ९९ हजार ८५४ रुपैयाँ, पुसमा ७ करोड २० लाख ३४ हजार ६६२ रुपैयाँ, माघ महिनामा ५ करोड ९१ लाख १२ हजार ४७८ र फागुन महिनामा ६ करोड १८ लाख १८ हजार २१ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
कार्यालयका प्रमुख विनोद पौडेलले जुनसुकै महिनामा सवारी दर्ता गरे पनि त्यसको जरिवाना नलाग्ने र नवीकरण गर्ने अन्तिम म्याद चैत्र मसान्तसम्म भएकोले चैत्र महिनामा अन्य महिनाभन्दा बढी राजश्व सङ्कलन हुने बताउनुभयो ।
“वार्षिक सवारी कर तिर्ने अन्तिम म्याद चैत्र मसान्त हो, त्यसले गर्दा चैत्रमा बढी हुन्छ”, उहाँले भन्नुभयो, “वैशाख महिनामा तिर्नुपर्ने सेवाग्राहीले पनि अग्रिम चैत्र महिनामा नै तिर्ने हुनाले वैशाखमा राजश्व सङ्कलन कम देखिएको हो ।”
यो चालु आवमा कार्यालय नियमित खुलेको कारणले १० महिनामा नै लक्ष्य भेटाउन लागेको पौडेलको भनाई छ ।
“अघिल्ला वर्षहरूमा कोभिडले गर्दा कार्यालय नियमित खुल्न पाएन, अहिले अघिल्ला वर्षमा नवीकरण गर्नुपर्ने सेवाग्राही पनि थपिएका छन् । सेवा विस्तार पनि भएको छ । सवारीसाधनको सङ्ख्या पनि हरेक बर्ष बढेको छ ।”, उहाँले भन्नुभयो ।
कार्यालयले यो चालु आवको असार मसान्तसम्म ६५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो तर दुई महिना अघि वैशाख महिनामै लक्ष्य बराबरको राजश्व सङ्कलन गर्न सकेको हो ।
https://ujyaalonepalnews.com/archives/21050


