सामाजिक सुरक्षा कोष पुनर्संरचना आवश्यक : मन्त्री श्रेष्ठ  

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रम मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताउनुभयो । रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरावलोकन गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले आकर्षक सुविधा र योजना ल्याएर कोषले सामाजिक सुरक्षाको प्रत्याभूति हुने विश्वास रोजगारदाता र योगदानकर्तालाई दिनुपर्ने बताउनुभयो । कोषमा रहेको रकमको परिचालन, लगानी र त्यसबाट आउने प्रतिफलको व्यवस्थापनलगायत विषयमा पनि नयाँ व्यवस्था गर्नुपर्ने अर्यालले बताउनुभयो । 

सामाजिक सुरक्षाविज्ञ कृष्ण आचार्यले सामाजिक सुरक्षा कोषले साना तथा मझौला उद्योगका रोजगारदाता र श्रमिकलाई समेट्ने गरी आकर्षक सुविधा तथा योजनाहरू ल्याउनुपर्ने बताउनुभयो ।

कोषको संरचनात्मक सुधार तथा कोषमा रहेको रकमको परिचालन र लगानी व्यवस्थाबारे पनि पुनरावलोकन गर्नुपर्ने सुझाव दिनुभयो । ‘सहभागिता, योगदान र सामाजिक सुरक्षा’ को अवधारणा अनुसार ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिक र रोजगारदाता दुवै लाभान्वित हुनेगरी अघि बढाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ । 

https://ujyaalonepalnews.com/archives/21141

Previous articleथप २६ मा सङ्क्रमण पुष्टि
Next articleसिन्धुपाल्चोकको लागि ४ अर्ब ६० करोडको बजेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।