अछामको साँफेबगर नगरपालिकामा ५३ करोड ५४ लाख बजेट बिनियोजन

अछाम । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष ०७९÷०८० को लागि प्रस्तुत गरेको बजेटमा अछामको साँफेबगर नगरपालिकाले सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लामध्ये सबैभन्दावढी बजेट प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये साँफेबगर नगरपालिका बजेट प्राप्त गर्नेमा सातौँ नम्बरमा रहेको छ । आर्थिक वर्ष ०७९÷०८० को लागि सुदूरपश्चिम प्रदेश स्थानीय तहमा बढी बजेट पाउने क्रमशः कैलालीको धनगढी उपमहानगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, कैलालीको लम्की चुहा, घोडाघोडी, गोदावरी, टीकापुर नगरपालिका र अछामको साँफेबगर नगरपालिका रहेको छन् । 

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सङ्घीय सरकारबाट ५३ करोड ५४ लाख प्राप्त गरेको छ। चालु आर्थिक वर्षको भन्दा साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६ करोड ६८ लाख बढी रकम प्राप्त गरेको छ ।

अछामका अन्य स्थानीय तहले दुई करोडदेखि पाँच करोड बढी रकम प्राप्त गर्दा साँफेबगर नगरपालिकाले भने आगामी आर्थिक वर्षको लागि सबै स्थानीय तहको भन्दा बढी रकम पाएको छ ।

साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले सुशासन, उत्तरदायित्व र  जनताको अपनत्व हुने गरी विकास र समृद्धिमा कार्य सम्पादन गर्दै आएका कारण नगरपालिकाको बजेट बढेको बताउनुभयो ।

पालिकामा भ्रष्ट्राचार शून्य सहनशीलताको नीति अवलम्ब गरी सेवा प्रवाह, पारदर्शी, जबाफदेहिता, सुशासन, विकास निर्माण प्रशासनलाई सँगसँगै अगाडी बढाउनुले पनि बजेट वृद्धि हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई रहेको छ ।

साँफेबगर नगरपालिकाका निवर्तमान नगर प्रमुख कुलबहादुर कुँवरले सङ्घीय सरकारले बनाएका नीति नियम, कानुनको साँफेबगर नगरपालिकाले पूर्ण रुपमा कार्यान्वयन गरेका कारण आगामी आर्थिक वर्षको बजेट बढेको बताउनुभयो । 

उहाँले  नगरपालिकाको सेवालाई अझै बढी प्रभावकारी र जनमुखी बनाउँदै सेवा प्रवाह गर्न विभिन्न विषयगत शाखाहरूसँग कार्यसम्पादनले पनि बजेट बढेको निवर्तमान नगर प्रमुख कुँवरको भनाई रहेको छ ।

यस्तै वान्नीगढी जयगढ गाउँपालिकाले जिल्लाका १० स्थानीय तहमध्ये कम बजेट प्राप्त गरेको छ । सबैभन्दा कम पाएको बान्नीगढी जयगढ गाउँपालिकाले २५ करोड १८ लाख पाएको छ । जिल्ला सदरमुकाम भएको मङ्गलसेन नगरपालिकाले ४२ करोड ५८ लाख, कमलबजारले ३४ करोड ९० लाख र पञ्चदेवल नगरपालिकाले ३७ करोड ६ लाख पाएको छ ।

यस्तै गाउँपालिकामा सबैभन्दा बढी रामारोशन गाउँपालिकाले ३७ करोड ४१ लाख, मेल्लेख गाउँपालिकाले ३२ करोड ६० लाख, चौरपाटी गाउँपालिकाले ३२ करोड १८ लाख, तुर्माखाँद गाउँपालिकाले ३५ करोड २३ लाख र ढकारी गाउँपालिकाले २७ करोड ६६ लाख बजेट पाएका छन् । 

https://ujyaalonepalnews.com/archives/21165

Previous articleपिठुवा सिंचाईको २८ औं साधारणसभा सम्पन्न
Next articleमुलुकको समृद्धि उद्यमशील युवाबाट मात्र सम्भव : वरिष्ठ उपाध्यक्ष ढकाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।