पिठुवा सिंचाईको २८ औं साधारणसभा सम्पन्न

निराजन घिमिरे, जेठ २१- चितवनको रत्ननगरमा रहेको पिठुवा सिंचाई जल उपभोक्ता संस्थाको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष पोषप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विशिस्ट अतिथिको रुपमा पुर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी उपस्थित थिए ।

कार्यक्रममा अतिथिको रुपमा रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापा, रत्ननगर १४ का वडा सदस्य धिरेन्द्र प्रसाद घिमिरे, पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष बद्रि प्रसाद अर्याल, गरिबी निवारण बचत तथा ऋण सहकारीका अध्यक्ष दिनेश घलान, पिठुवा सिकाई केन्द्रका अध्यक्ष हरिश्चन्द्र अधिकारी, सृजनशिल महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष मिना ढकाल, तत्कालिन निर्वाचन समिति संयोजक ओम लामिछाने, सल्लाहकार समिति सदस्यहरु दण्डपाणी लामिछाने र विष्णुप्रसाद अर्याल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनालले चितवनमा तिब्र शहरीकरण बढे संगै खेतीयोग्य जमिन मासिएर कंक्रिटको जंगल बढेकोमा चिन्ता व्यक्त गरे । कुनै समय आफु पनि यसै संस्थाको सचिव बनेर काम गरेको उल्लेख गर्दै मन्त्री खनालले २०२४  सालमा स्थानिय किसानले कयरखोलामा स्याउलाको बाँध बनाएर सिंचाईको लागी बनाएको कुलो विभिन्न समयमा विभिन्न निकायहरुको सहयोगमा व्यवस्थित नहर बनेको बताए । पिठुवाको सयौं बिगाहा जमिन सिंचाई गर्ने यस नगर बनाउन धेरै स्थानीयको रगत पसिना बगेको उल्लेख गर्दै मन्त्री खनालले प्रदेश सरकारको बजेटमा पिठुवा सिंचाईको समस्या समेटिने बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष हेमराज थापाले किसानले माटो संग खेल्न गाह्रो मान्न नहुने बताए । अहिले आली लाउन देखि धान भित्राउन सम्म मधेसका मानिस नआए चितवनको खेत बाँझै बस्ने अवस्था आएको उनको भनाई छ । किसानहरु अल्छी बन्दै गएको र कुलो सफा गर्न समेत वडाकार्यालयलाई गुहार्न थालेको उनले गुनासो गरे ।

वडा नं. १६ को सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष पोषप्रसाद पोखरेलले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थाका सचिव हेमलाल तिवारीले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै संस्थाको आयव्यय विवरण  कोषाध्यक्ष शर्मिला लामिछानेले प्रस्तुत गरेकी थिईन् भने लेखापरीक्षण प्रतिवेदन लेखासमिति संयोजक ईश्वरीप्रसाद खनालले प्रस्तुत गरेका थिए ।

वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पोषप्रसाद पोखरेलले स्थानिय सरकारको असहयोगले नहरको नियमित मर्मत समेत गर्न नसकिएको, बाँध बनाउन प्रयोग गरिने एक्साभेटरको नियमित मर्मत र ईन्धन जुटाउन समस्या रहेको तथा कर्मचारीलाई समयमा तलब खुवाउन समेत समस्या भोग्दै आएको गुनासो गरे ।  नगरपालिकाले वार्षिक रुपमा निश्चित बजेट बिनियोजन गरेर यस संस्था संचालनमा सहजीकरण गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा संस्थाका पुर्व कार्यालय सचिव शोभित बहादुर खड्कालाई उनको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान समेत गरिएको थियो ।  त्यस्तै संस्थाका सहयोगी तोपबहादुर फ्याली मगरलाई नगद सहित पुरस्कृत गरिएको थियो ।  संस्थाका सचिव हेमलाल तिवारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद रिमालले स्वागत मन्तव्य राखेका थिए।

२०२४ सालदेखि कयरखोलाको पानी कुलो मार्फत ल्याएर सुरु गरिको सिंचाई प्रणालीलाई चितवन जिल्ला सिंचाई आयोजना मार्फत लघु सिंचाई अन्तर्गत पिठुवा नहरको संरचना तयार गरि २०३१ सालमा तत्कालिन प्रधनापन्चको नेतृत्वमा पिठुवा सिंचाई सु-व्यवस्था समिति गठन गरि संस्थागत रुपमै पिठुवामा सिंचाईको व्यवस्था गरिएको हो ।

https://ujyaalonepalnews.com/archives/21164

Previous articleआयोजनाको काम छिटो सम्पन्न गर्नुस् : नेता पौडेल
Next articleअछामको साँफेबगर नगरपालिकामा ५३ करोड ५४ लाख बजेट बिनियोजन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।