
सुर्खेत । पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएको अर्को महत्त्वपूर्ण बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण पूर्वका कामले तीव्रता पाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिएसँगै आयोजना निर्माण पूर्वका कामले तीव्रता पाएको हो ।
चार सय ३९ मेगावाट क्षमताको यो जलविद्युत आयोजनाको निर्माण अबको ५ वर्षमा सक्ने लक्ष्य राखिएको छ । सुर्खेत र अछाम जिल्लाको सिमानामा बन्ने अर्धजलाशययुक्त जलविद्युत आयोजनाको अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को काम अन्तिम चरणमा पुगेको वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड परियोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जानकारी दिनु भयो ।


उहाँले अछाम तर्फको ढुङ्गाचाल्नादेखि आयोजनाको पावर हाउससम्मको १८ किलोमिटर पहुँच मार्ग निर्माणसँगै सुर्खेत तर्फको १४ किलोमिटर मध्ये हालसम्म ७ किलोमिटर बाटो निर्माण भइसकेको बताउनु भयो । उहाँका अनुसार सुर्खेत तर्फको बाँकी ७ किलोमिटर बाटो समेत अबको दुई महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजना निर्माण स्थलमा क्याम्प हाउस निर्माण सम्पन्न भएसँगै वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको शाखा कार्यालय समेत सञ्चालनमा ल्याइएको उनको भनाई छ । ‘अछाम तर्फको जग्गाको मुआब्जा निर्धारणको काम सकिएसँगै अब रकम बाँड्ने तयारी गरिएको छ,’ उहाँले भन्नुभयो, ‘सुर्खेत तर्फको जग्गाको मुआब्जा निर्धारणका लागि अबको दुई महिना भित्र प्रमुख जिल्ला अधिकारी, मालपोत, नापी र स्थानीय जनप्रतिनिधिसँगै सरोकारवालासँग बसेर काम टुङ्ग्याउने योजना छ ।’

उहाँले अछामको ढकारी र तुर्माखाँदका बासिन्दाको जग्गालाई वर्गीकरण गरेर कृषियोग्य जग्गालाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ श्रेणीमा वर्गीकरण गरिएको जनाउनु भयो । उहाँका अनुसार ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका जग्गालाई प्रतिरोपनी ७ लाख ३० हजार ९०४ रुपैयाँको दरले मुआब्जा दिइने छ । यसैगरी ‘घ’ र ‘ङ’ श्रेणीका जग्गाधनीले प्रतिरोपनी पाँच लाख ४६ हजार ३ सय ३२ रुपैयाँको दरले मुआब्जा पाउने छन् ।
अछाम क्षेत्रमा मात्रै १८ सय ४४ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने आयोजनाका प्रबन्धक न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार सुर्खेत तर्फको जग्गाको मूल्य निर्धारण कार्य सकिनासाथ अछाम तर्फका लागि समेत मुआब्जा रकम बाँड्न शुरु गरिनेछ ।

यता वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) कार्यको जिम्मेवारी पाएको परामर्शदाता एनईए ईन्जिनियरीङ्ग कम्पनी लिमिटेडका वातावरण विद् सरोज घिमिरेले आउँदो असोज महिना भित्र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको काम सम्पन्न गरी सम्बन्धित निकायमा रिपोर्ट बुझाउने लक्ष्य रहेको बताउनु भयो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कन कार्य हालसम्म ८० प्रतिशत सम्पन्न भएको जनाउनु भयो ।
आयोजना प्रभावित क्षेत्रका गाउँपालिकामा आउँदो महिनाको अन्त्यतिर स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहवरमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने तय भइसकेको उहाँको भनाइ छ । उहाँका अनुसार घरधुरी सर्वेक्षण, रुख घर संरचना तथा रुख बिरुवाको गणना, आयोजना क्षेत्र भित्रको हावापानी, माटोको गुणस्तर मापन एवं कर्णाली नदीमा पाईने जलचरहरूको अध्ययनलगायतका कार्य सम्पन्न भएका छन् ।

आयोजना संरचना र लागत
आयोजनाले अछामको ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको क्षेत्र ओगट्छ । पूर्वाधार निर्माण गर्ने क्रममा पहुँच मार्ग निर्माण कार्य सकिने बित्तिकै भोक्रे खोला नजिक करिब ७० मिटर लामो बेलिब्रिज बनाइने छ ।
आयोजनाको ड्याम (बाँध) ८९ मिटर अग्लो हुने छ । ड्याम चौकुने र ढकारीका वडा नं. ६ अन्तर्गत मालुमेलातर्फ बन्दैछ । त्यसबाट ८–८ मिटर डायमिटरका तीनवटा सुरुङ बनाइनेछ । यी सुरुङ दुई किलोमिटर लामा हुने छन् । ५ सय ७० मिटर मध्ये हालसम्म ४ सय ९० मिटर लामो टनेल खनिसकिएको छ । यसको पावर हाउस अन्डरग्राउन्ड हुनेछ । ‘पावर हाउसमा ६ वटा जेनेरेटर हुने छन् । त्यसबाट ४ सय ३९ मेगावाट बिजुली उत्पादन हुन्छ,’ प्रबन्धक न्यौपानेले भन्नु भयो ।

उहाँले यसबाट उत्पादित बिजुली पाँच किलोमिटर लामो प्रसारण लाइन बनाएर सुर्खेतको चौकुने स्थित बेतन हब भन्ने सब स्टेसनमा जोडिने बताउनुभयो । उहाँका अनुसार सुर्खेत जिल्लाको बेतन गाउँमा सब स्टेसनमा निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । त्यहाँबाट ३० किलोमिटर टाढा पर्ने दुदुधाराको पूर्वपश्चिम ट्रान्समिसन लाइन र बोर्डर लाइनमा बिजुली जोडिनेछ ।
‘वित्तीय व्यवस्थापन अन्तर्गत लगानी सुनिश्चितताका लागि (फाइनेंशियल क्लोजर) बैङ्कसँग छलफलसँगै विद्युत् खरिदको प्रक्रिया अघि बढाइएको छ,’ उहाँले भन्नुभयो, ‘विद्युत् खरिद, विक्री सम्झौता (पीपीए) गर्नका लागि विद्युत् प्राधिकरणसँग प्रक्रिया अघि बढाएका छौँ ।’ उहाँले आयोजनामा सञ्चयकोषका सञ्चयकर्ताको ४० प्रतिशत, सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०÷१० प्रतिशत लगानी हुने जनाउनु भयो ।
यसमा सर्वसाधारणको २५ प्रतिशत लगानी हुने छ । आयोजना सम्पन्न गर्नका लागि ७४ अर्ब १५ करोड व्याज बाहेक लाग्ने र यसबाट वार्षिक रुपमा १४ अर्ब ५० करोड आम्दानी हुनेछ । उहाँका अनुसार आयोजनाबाट दैनिक ४ करोडको विद्युत् विक्री वितरण गर्ने लक्ष्य राखिएको छ ।
https://ujyaalonepalnews.com/archives/21299


