प्रधानमन्त्री देउवा र भक्तपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच छलफल

भक्तपुर  । प्रधानमन्त्री शेरबहादुर देउवा र भक्तपुर उद्योग वाणिज्य सङ्घको टोलीबीच आज भक्तपुरको विकासका बारेमा छलफल भएको छ । 

भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धर नेतृत्वको पदाधिकारीसहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरी ११ बुँदे प्रस्ताव पेश गर्दै भक्तपुरको पूर्वाधार विकासका लागि पहल गरिदिन अनुरोध गरेको हो ।  

प्रधानमन्त्री देउवासमक्ष सङ्घले लोकतन्त्रको संस्थागत विकास र संविधानको पूर्ण पालनाप्रति प्रतिबद्ध वर्तमान सरकारले भक्तपुरको विकासमा टेवा दिन अनुरोध गरेको हो । 

सङ्घका अध्यक्ष मानन्धरले प्रधानमन्त्रीको दृढ अठोट र सङ्कल्पका कारण हालै मुलुकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित एवं व्यवस्थित रूपमा सम्पन्न भएको भन्दै निजी क्षेत्र पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिप्रति अत्यन्त उत्साहित बन्न पुगेको बताउनुभयो । 

प्रधानमन्त्रीसमक्ष भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालनका लागि स्वीकृत प्रदान गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले ख्वप विश्वविद्यालय सञ्चालनमा आए जनताले न्यून शुल्कमा नेपालमै विशेषज्ञ चिकित्सक उत्पादन गर्नसक्ने जानकारी गराउनुभयो । 

सङ्घले प्रधानमन्त्री देउवासँग भक्तपुर नगरकोट जोड्ने सडक यथाशीघ्र कालोपत्रेसहित निर्माण सम्पन्न गर्न, सूर्य विनायक नगरपालिकामा पर्ने राष्ट्रिय प्राणी उद्यानको अविलम्ब निर्माण तथा सञ्चालनमा ल्याउन, भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र सभाहल निर्माण गर्न, पर्यटन पूर्वाधारको विकास गरी भक्तपुर आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन तारे होटल निर्माणको प्रबन्ध गरिदिन, हालको भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामका रूपमा विकास गरी औद्योगिक क्षेत्रलाई यथाशीघ्र उचित स्थानमा स्थानान्तरण गर्न पहल गरिदिन आग्रह गरेको छ । 

त्यस्तै, व्यावसायिक कृषि खेती गर्नका लागि नेपालमै मल कारखाना सञ्चालन गर्न, जिल्लाभित्र उत्पादित कृषि उपजको बजारीकरणका लागि कृषि थोक बजार केन्द्रको निर्माण गरिदिन, स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न श्रम ऐनमा आवश्यक सुधार गरी श्रम लागत छिमेकी मुलुकसरह बनाउन, नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा डण्डी र सिमेन्टमा जस्तै आठ प्रतिशत निर्यात अनुदान व्यवस्था गरिदिन, आव २०७९/०८० को बजेटमा विद्युतीय सवारी साधनामा लगाइएको करको दर खारेज गर्न, युवालाई स्वदेशमै बसेर उद्योग व्यवसाय गर्न प्रोत्साहन मिल्ने कार्यक्रम ल्याउन र स्वदेशमा रोजगारी सिर्जना गरिदिन सङ्घले प्रधानमन्त्री देउवासँग आग्रह गरेको छ । 

भेटमा प्रधानमन्त्री देउवाले सङ्घको आग्रहलाई स्विकार्दै आवश्यक पहल गर्ने जानकारी गराउनुभएको सङ्घका सदस्य नवीन प्रजापतिले जानकारी दिनुभयो । रासस

https://ujyaalonepalnews.com/archives/21362

Previous articleनबिल बैंकको शौचालयल सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने
Next articleसेफ्टी ट्याङ्कीमा खसेर दुईको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।