
काठमाडौँ । विभिन्न विपद्बाट प्रभावित जनतालाई तत्काल राहत तथा उद्धार एवं पुनर्स्थापनाका लागि सरकारी कोषमा अहिले रु छ अर्ब ७९ करोड ९० लाख नौ हजार रकम मौजात रहेको छ । यसमा विभिन्न स्थानीय तहले विनियोजन गरेको रकम समावेश गरिएको छैन ।
प्रकोप पूर्व तयारी सञ्जाल (डिपीनेट)को २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले प्रस्तुत गर्नुभएको विवरण अनुसार हाल प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रु तीन अर्ब पाँच करोड ९१ लाख, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा रु दुई अर्ब छ करोड, प्रदेश विपद् व्यवस्थापन कोषमा रु ५९ करोड ४४ लाख ९० हजार र जिल्ला विपद् व्यवस्थापन कोषमा एक अर्ब आठ करोड ५४ लाख १९ हजार रकम मौजाद रहेको छ ।
मनसुनको आवागमनसँगै आउन सक्ने विपद्को क्षतिमा प्रभावित जनतालाई प्रदान गर्ने गरी स्थापना गरिएका ती विभिन्न कोषको रकम खर्च हुन नहुँदा पीडित तथा राहत उद्धारमा संलग्न निकायहरूले समयमै भुक्तानी पाउन सकेका छैनन् । केन्द्रीय स्तरदेखि स्थानीय तहसम्मले विभिन्न राहत कोषहरूको स्थापना गरे पनि त्यसको खर्च गर्ने कार्य योजना नबन्दा विपद्बाट प्रभावित समुदाय एवं राहत उद्धारमा संलग्न निकायहरूले वर्षौँसम्म भुक्तानी पाउन नसकेको कार्यक्रममा वक्ताहरूले गुनासो गरेका छन् ।
प्रकोप पूर्व तयारी सञ्जाल (डिपीनेट) को २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्व शिक्षामन्त्री डा गङ्गालाल तुलाधरले राज्यसँग पर्याप्त रकम मौजाद हुँदाहुँदै पनि विपद्मा परेका समुदायलाई तत्काल राहत तथा उद्धारका लागि आवश्यक रकमको परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्यसमेत रहनुभएका डा तुलाधरले विपद्का क्षेत्रमा पछिल्लो समय नीतिगत व्यवस्था, संस्थागत संरचनाको स्थापना, पूर्व सूचना प्रणाली, दक्ष जनशक्ति र आवश्यक आर्थिक स्रोत उपलब्ध हुँदा पनि राजनीति नेतृत्वमा इच्छाशक्तिको अभाव र कर्मचारीतन्त्रले विभिन्न कानुनी अडचन देखाएर पन्छिने प्रवृत्तिले विपद्को पूर्व तयारीदेखि प्रतिकार्य र पुनः स्थापना कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो ।
उहाँले विज्ञानमा आधारित जोखिम संवेदनशीलतालाई सबैले मनन गरी विपद्मा परेका समुदायको पक्षमा मानव महापूण्यमा लाग्न आग्रह गर्नुभयो ।
एक साता छिटो सुरु भएको यस वर्षको मनसुन नेपालको पूर्व दिशा हुँदै पश्चिमतिर सक्रिय भइरहँदा विगत वर्षहरूको तुलनामा यस वर्ष बढी वर्षा भई ठूलो क्षति हुनसक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरिसकेको छ ।
विभागले यस वर्षको मनसुनको समयमा चार लाख २१ हजार घरधुरीका करिब २० लाख जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुने आङ्कलन गरिसकेको अवस्थामा भोलि विपद् आएमा त्यसबाट प्रभावित समुदायको उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक रकमको परिचालनमा कुनै कठिनाइ हुन नहुने देखिन्छ ।
प्राधिकरणका प्रवक्ता डा भट्टराई विगतमा मनसुनका कारण भएका क्षतिहरूको विश्लेषण गर्दै आगामी दिनमा मनसुन पूर्वानुमान र सम्भावित मनसुनजन्य विपद् जोखिमको आङ्कलन गरी मनसुनजन्य प्रतिकार्य योजना तर्जुमा गरिएको र छिटै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो ।
नेपालको पश्चिम तराई केन्द्रित वर्षा हुने र त्यसले बाढी, पहिरो र डुबानको समस्या बढाउने र विनाश निम्त्याउन सक्ने विभागले अनुमान गरेको छ ।
विभागले प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने बताएको छ । ती क्षेत्रहरूमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत)रहेको छ ।
मौसमविद् एवं डिपीनेतका प्राविधिक सल्लाहकार डा.धरम उप्रेतीले विगतका वर्षहरूको तुलनामा यस वर्ष मनसुनको चाप बढी रहेकाले यसले बाढी, पहिरो, कटान, डुबानजस्ता क्षति विपद् ल्याउने हुँदा त्यसबाट सुरक्षित रहन पूर्व तयारीदेखि पूर्व सूचना प्रणालीलाई समुदाय स्तरसम्म पु¥याउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेपालमा हुने कूल वार्षिक वर्षाको करिब ८० प्रतिशत मनसुनी वर्षको रुपमा जेठदेखि असोजसम्मको चार महिनाको अवधिमा हुने हुँदा यसबाट हुने मानवीय वा भौतिक क्षतिलाई रोक्न सरकार, सरोकारवाला निकाय र सर्वसाधारणमा आवश्यक तयारी, सूचना र प्रतिकार्यसहित कार्य योजनाको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
डिपीनेटका कार्यवाहक अध्यक्ष डा.राजु थापाले प्राकृतिक विपद्का दृष्टिले नेपाल विश्वमै उच्च जोखिमपूर्ण अवस्थामा रहेको भए पनि कानुनी प्रबन्ध र संस्थागत विकासमा अन्य देशको तुलनामा धेरै प्रगति गर्न सकेको उल्लेख गर्नुभयो ।
उहाँले गत वर्ष डिपीनेटले कार्यान्वयन गरेका विभिन्न छ वटा परियोजनाहरूको उपलब्धि र यस वर्षका लागि प्रस्तावित कार्य योजनाका बारेमा प्रकाश पार्नुभएको थियो ।
डिपीनेटका महासचिव कैलास रिजालका अनुसार हाल डिपीनेटमा विपद्का क्षेत्रमा कार्यरत सयभन्दा बढी गैरसरकारी संस्था र झण्डै तीन दर्जन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आबद्ध रहेका छन् । रासस
https://ujyaalonepalnews.com/archives/21396


