स्वदेशमै  दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड

चितवन । नेपालमै दक्ष जनशक्ति उत्पादन र आपूर्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाबीच संवाद गरिएको छ । सप्तगण्डकी क्याम्पस, भरतपुरको आयोजना र उद्योग वाणिज्य सङ्घ, चितवनको सह आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा  नारायणगढमा इन्डस्ट्री एकेडिमिया डाइलग (उद्योग प्राज्ञिक संवाद) विषयमा संवाद  तथा छलफल गरिएको हो । 

उक्त कार्यक्रममा विश्व विद्यालयका तथा क्याम्पसका प्राज्ञिक व्यक्तित्व, उद्योगी व्यवसायी, बैंकर्स लगायतले स्वदेशमै रहेका विश्वविद्यालयहरुले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उक्त संवाद कार्यक्रममा चारवटा कार्य प्रस्तुत गरिएको थियो । 

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कृषि तथा वन विश्वविद्यालय रामपुरका रजिष्ट्रार डाक्टर शारदा थपलियाले विश्वविद्यालयका उत्पादनलाई निजी क्षेत्र सँग जोड्नुपर्ने बताउनुभयो  । नेपालमा दक्ष जनशक्तिको अभावका कारण औद्योगिक क्षेत्रको उत्पादन अपेक्षा अनुसार हुन नसकेको भन्दै विदेश पलायन हुने दक्ष शक्तिलाई रोक्नुपर्नेमा जोड दिनुभयो  । 

नेपालको औद्योगिक बजारमा यहाँका विश्वविद्यालयमा रहेका पाठ्यक्रम मेल नखाएका कारणपनि दक्ष जनशक्ति को अभाव भएको उहाँको भनाई थियो । ‘हामीले निर्वाहमुखी उत्पादनलाई पनि परिमार्जन गर्नुपर्छ , उहाँले भन्नुभयो, पाठ्यक्रमलाई समेत समय अनुसार परिमार्जन गर्दै लानुपर्छ ।’  अनुसन्धानको काम र उद्योगको समस्या समाधान गर्न पनि विश्वविद्यालय सक्रिय हुनुपर्ने उहाँको भनाई थियो । 

सो अवसरमा बोल्दै बैंकिङ्ग सम्बन्धी विषयमा विद्यावारिधि गर्नु भएका डाक्टर कपिलदेव सुबेदीले दक्ष जनशक्तिको अभावका कारण नेपालमा उत्पादन र रोजगारीमा ठूलो असर पुगेको बताउनु भयो  । ‘नेपालमा कलेज तहकै वार्षिक साँढे पाँच लाख विद्यार्थी उत्पादन हुन्छन्, उहाँले भन्नुभयो , ती मध्ये हरेक बर्ष साँढे चार लाख त वैदेशिक शिक्षाको लागि बाहिर जाने गर्दछन् ।’ 

निजी क्षेत्र र विश्वविद्यालय बीचको समन्वय र सहकार्य अभावका कारण नेपालमा दक्ष जनशक्तिको लागि छिमेकी राष्ट्रको भर पर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो  । निजी क्षेत्र र विश्वविद्यालय बीचको दुरी घटाई स्वदेशी जनशक्तिलाई उच्चतम प्रयोग गर्नुपर्नेमा उनले जोड दिनुभयो  । 

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै उवासंघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले निजी क्षेत्रले खोजेको जनशक्ति अनुसार विश्वविद्यालयले जनशक्ति उत्पादन र आपूर्ति गर्नुपर्ने बताउनु भयो  । ‘विश्वविद्यालयले अर्गनाईजेशन अनुसारको जनशक्ति उत्पादन गरेको छकी छैन र चाहिने दक्ष जनशक्ति कसरी उत्पादन गर्ने विषयमा केन्द्रित हुनुपर्छ ।’ श्रेष्ठले भन्नुभयो  । 

उहाँले दक्ष जनशक्ति पनि संस्थाको पुजी भएकोले त्यसलाई वर्गीकरण नयाँ जनशक्ति र पुराना जनशक्तिलाई वर्गीकरण गरी जनशक्ति सम्बन्धित क्षेत्र तथा विभागमा आपूर्ति गर्न सकिने बताउनुभयो  ।  

सो अवसरमा बोल्दै सप्तगण्डकी क्याम्पसका वरिष्ठ उपाध्यक्ष रामाकान्त सापकोटाले रोजगारी, उत्पादन र प्राज्ञिक क्षेत्रको खाडल पूर्ति गर्न यो कार्यक्रम गरिएको बताउनुभयो  । अन्य विकसित मुलुकमा जस्तो दक्ष जनशक्ति नेपालमा नभएको भन्दै उहाँले यहाँका विश्वविद्यालयले बजार अनुसारको जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो  । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन डाक्टर ध्रुवराज पोख्रेल, बैंकर्स एसोसिएसनका वाग्मती प्रदेश सदस्य सचिव सुवर्ण बुढाथोकी, कृषि तथा वनस्पति विद्यालयका रजिष्ट्रार डाक्टर शारदा थपलिया, उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

https://ujyaalonepalnews.com/archives/21449

Previous article‘नेपाल र बङ्गलादेशबिच २० वस्तुमा व्यापार सम्झौता गरिने’
Next articleव्यवसायीलाई समस्यामा पार्न खोजेको होइन : अर्थमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।