रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताउनुभएको छ । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताउनुभएको हो ।

‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मदत मिलेको छ’ उहाँले भन्नुभयो, ‘विदेशमा रहेका नेपालीहरूको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनीहरू बनिरहेका छन् ।’

रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो । हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट विदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको उहाँले प्रशंसा गर्नुभएको थियो ।

आर्थिक बर्ष ०७९/८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उहाँले जानकारी दिनुभएको थियो । ‘बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेका छैन । अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेष रुपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ ’ उहाँले भन्नुभयो, ‘यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो ।’

आर्थिक बर्ष ०७९/८० को बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितिकरणबाट समावेशितातर्फको प्रस्थान भएकाले मुलुकको वर्तमान आर्थिक अवस्थालाई बिस्तारै समाधान गरी अघि बढ्ने विश्वास दिलाउनुभयो । उहाँले औद्योगिक बस्तु र कृषि उपजसँगै सेवा क्षेत्रको समेत निर्यात थालनी गर्ने गरी बजेट आएको बताउनुभयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रूपान्तरण गरेको बताउनुभयो । गाँस, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउँदो दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘रेमिट्यान्सको पैसा व्यक्तिगत खपतमा बढी प्रयोग हुने गरेको देखिन्छ । पहिले त गाँस, बास र कपासको व्यवस्थापन नै गर्ने हो’ उहाँले भन्नुभयो, ‘आउँदा दिनमा भने रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता छ ।’ 

श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आगामी आवको बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य  राखेको बताउनुभयो । कार्यक्रममा आइएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट शुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिनुभएको थियो । उहाँले बजेटमा आएका विषयहरू कार्यान्वयनमा जाने हो भने देशको आर्थिक गतिविधि बढ्ने सुझाव दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/21509

Previous articleनवलपरासीमा सेनाको डुबानबाट बच्ने अभ्यास
Next article‘समथर स्थानमा बसाइसराइ गर्ने प्रवृत्तिमा भएको विकासले कृषियोग्य भूमि क्रमशः घट्दै’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।