स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि बजेट छुट्याइएको छ : मन्त्री यादव

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, सहरी विकास, कृषि तथा पशुपक्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, खानेपानी, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि बजेट छुट्याइएको र यो उद्योग मन्त्रालयसँग सम्बन्धित भएकोले मन्त्रालयका साथै लगानी बोर्डमा समेत छलफल अघि बढेको स्पष्ट पार्नुभयो ।

मन्त्री यादवले कृषि उत्पादनको पछिल्लो अवस्था र मागसम्बन्धी तथ्याङ्क पेश गर्दै बजेटमा प्रवद्र्धनका विभिन्न कार्यक्रम रहेको अवगत गराउनुभयो । उहाँले कृषि पेशालाई सम्मानित, मर्यादित र नाफामूलक बनाइ आत्मनिर्भर बनाउने, यस क्षेत्रका पूर्वाधार विकास गर्ने, किसान सुरक्षा कार्यक्रमअन्तर्गत किसानलाई पेन्सन प्रदान गर्नका लागि सूचीकरण गर्न बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो । 

गहुँ, कुखुराको मासु र अण्डामा अहिले करिब आत्मनिर्भरको अवस्था रहेको बताउँदै मन्त्री यादवले आगामी दुई वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने गरी बजेटमा कार्यक्रम प्रस्ताव गरिएको बताउनुभयो ।

पशुपक्षी बीमा र २०७९ साललाई कृषि जैविक विविधताको वर्षका रुपमा मनाउन बजेटमा प्रस्ताव गरिएको जानकारी गराउँदै उहाँले गतवर्ष धानबालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा लागत तयारी गरी गृह मन्त्रालय पठाइसकेको र त्यसका लागि रु पाँच अर्ब छुट्याइसकेको जानकारी गराउनुभयो । 

उहाँले आफ्नो मन्त्रालयको कार्यक्षेत्रअनुसार उखुको मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाइसकेको स्पष्ट पार्दै मलखादको वितरणलाई पारदर्शी बनाउनका लागि अनलाइनको व्यवस्था गर्न निर्देशन गरिसकेको समेत बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/21565

Previous articleसुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव
Next articleराज्य र पार्टीको संरचनामा श्रमिक प्रतिनिधित्व गर्न ट्रेड युनियन कांग्रेसको माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।