‘पाँच वर्षसम्म वार्षिक ७० अर्बको विद्युत् निर्यात गर्न सकिन्छ’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी पाँच वर्षमा हरेक वर्ष रु ७० अर्ब बढीको विद्युत् निर्यात गर्न सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत ऊर्जा मन्त्रालय शीर्षकको विनियोजनमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले आगामी आर्थिक वर्ष वर्षा याममा मात्रै करिब रु १५ देखि २० अर्ब बराबरको अतिरिक्त विद्युत् निर्यात गर्न सकिने बताउनुभयो ।

हाल वर्षा याममा बढी हुने ३६४ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा दैनिक रु १० देखि १२ करोडको विद्युत् भारत निर्यात गरिरहेको जनाउँदै उहाँले आन्तरिक माग धान्न भारतबाट आयात गरिएको विद्युत्को मूल्यभन्दा वर्षा याममा नेपालले निर्यात गरेको विद्युत्को मूल्य बढी रहेको बताउनुभयो ।

विद्युत् उत्पादनका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने अतिरिक्त विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

मन्त्री भुसालले उपलब्ध जलस्रोतको अधिकतम फाइदा हुने गरी तीन वटै तहका सरकारबाट समन्वयात्मक रुपमा आयोजनाको विकास गर्न नदी बेसिन योजना र जलविद्युत् गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस

https://ujyaalonepalnews.com/archives/21639

Previous articleबागमती प्रदेशसभामा ७० अर्ब ९३ करोडको बजेट सार्वजनिक
Next articleपत्रकारहरूको आर्थिक तथा पेशागत सुरक्षाप्रति सरकार सजग छ : सञ्चारमन्त्री कार्की
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।