
काठमाडौँ । सरकारले निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको कामलाई असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको कामलाई असार मसान्तसम्म निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने, नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाका लागि गठन गर्ने लगायतका निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारले सार्वजनिक पुनरावलोकन खरिद पुनरावलोकन समितिको अध्यक्षमा नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीबाट अवकाश प्राप्त मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै, सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई र तारागाँउ विकास समितिको अध्यक्षमा सुरेशराज जोशीलाई र समितिकै सदस्य–सचिवमा महेन्द्र कुमार थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने करिब ३६ करोड ६२ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी, जेठ ३१ गतेकै मन्त्रिपरिषद् बैठकले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७८, उपचार खर्च, राहत तथा आर्थिक सहायता सम्बन्धी मापदण्ड २०७८ र सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री तथा मिनाहा सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्नुका साथै विभिन्न मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली टोलीलाई स्वीकृति दिने निर्णय समेत गरेको छ ।
https://ujyaalonepalnews.com/archives/21655


