बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने क्रम जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत बजेट माथिको मन्त्रालयगत छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच बजेटका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुभयो । 

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा कोही पनि पनि अनधिकृत व्यक्ति संलग्न नरहेको र कसैलाई लाभ हानी हुने गरी करका दरहरू समेत परिमार्जन नभएको पनि स्पष्ट पार्नुभयो । 

त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै अर्थ मन्त्रालय अन्तर्गतको विनियोजन माथिको छलफल बहिस्कार गर्‍यो । 

नेकपा एमालेका सांसद भानुभक्त ढकालले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई संलग्न गराएको र केही व्यापारिक समूहलाई लाभ पुग्ने गरी करका दरहरू परिमार्जन गरिएको समाचारको सत्य तथ्य जाँचबुझ नहुँदासम्म अर्थमन्त्रीलाई स्वीकार गर्न नसक्ने बताउनुभयो । 

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थमन्त्रीलाई समय दिनुभएपछि एमालेका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभयो । 

सम्बोधनका क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा प्रचलित कानून र परम्परा विपरीत कुनै काम नभएको र अनधिकृत रुपमा करका दरहरू परिवर्तन नभएको जवाफ दिनुभयो ।

त्यसपछि नेकपा एमालेले अर्थमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै छलफल बहिस्कार गर्‍यो । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाँणले नेपालको भूमि रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

गृहमन्त्री खाँणले सीमा मिचिएका ठाउँमा दुई पक्षीय संवाद र कूटनीतिको माध्यमबाट गुमेको भूमि फिर्ता ल्याउन सरकारले आवश्यक प्रयास गरिरहेको बताउनुभयो ।   

https://ujyaalonepalnews.com/archives/21657

Previous articleजापानबाट प्राप्त करिब ३६ करोड ६२ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय 
Next articleमन्त्रिपरिषद्का सदस्यलाई कार्यभार तोकियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।