
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर–५ मनामा पशुपालक कृषकहरूलाई बाख्रा वितरण गरिएको छ ।
पशु सेवा विज्ञ केन्द्र बाजुराको बाख्रा ब्लक कार्यक्रम अन्तर्गत कृषकहरूलाई आधुनिक तरिकाले बाख्रा पालन गरी गाउँमै रोजगारी सृजना गराउने र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले प्रति कृषक दुई वटाका दरले ३७ परिवारलाई ७६ बाख्रा र ६ जना कृषकलाई प्रति कृषक १ का दरले ६ वटा बोका वितरण गरिएका हो ।
गाउँ भरिका बाख्राहरूको नश्ल सुधारका लागि स्थानीय जातका बाख्रा तथा उन्नत जातका बोकाहरू वितरण गरिएको पशु सेवा विज्ञ केन्द्र बाजुराका सिद्धराज जैशीले बताउनुभयो ।
बाख्रा पालन व्यवसायका लागि आवश्यक प्रशस्त जङ्गल र उपयुक्त वातावरण भएकाले बाख्रा पालन व्यवसायको उच्च सम्भावनालाई मध्यनजर गरी बाख्रा पालक कृषकहरूको स्तरोन्नति तथा व्यावसायिक तवरले जीविकोपार्जनका लागि बडिमालिका नगरपालिका–५ को मनामा जिल्ला भरिकै एक मात्र बाख्रा ब्लक कार्यक्रम सञ्चालन भइरहेको पशु सेवा विज्ञ केन्द्र बाजुराले जनाएको छ ।
बडिमालिका नगरपालिका पशु सेवा शाखा प्रमुख गोपालचन्द्र भण्डारीका अनुसार बाख्रा वितरणले कृषकहरूलाई व्यावसायिक बाख्रा पालनमा उत्प्रेरित गराई आय आर्जनमा टेवा पुर्याउनेछ ।
पशु सेवा विज्ञ केन्द्र बाजुराले रु.३० लाखको लागतमा मना गाउँमा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरिरहेको छ । बाख्रा ब्लक कार्यक्रम अन्तर्गत हाल मनामा बाख्रा वितरणसहित प्रति कृषक ३ लाखका दरले ७ जना कृषकका लागि ७ वटा आधुनिक खोर निर्माण समेत गरिसकेको छ ।
बाख्रा ब्लक कार्यक्रम सञ्चालनले स्थानीय बाख्रा पालक कृषकहरू निकै खुसी भएका छन् ।
बाख्रा ब्लक कार्यक्रम अन्तर्गत अबका एक ÷दुई दिन भित्रै गाउँ भरिका बाख्रामा छाला सम्बन्धी भित्री रोग र बाह्य रोगको निधान गर्न आइभर मेक्टृन खोप लगाउने तथा जुकाको औषधि समेत खुवाइने योजना रहेको विज्ञ केन्द्र बाजुराको नायव पशु स्वास्थ्य प्राविधिक बल रावलले बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/21824


