हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल

काठमाडौँ । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा काठमाडौँ विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।

छलफलमा अर्थमन्त्री शर्माले सुरुवातमा एक सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । विकसित देशहरू धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसङ्ग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल एक सय मेगावाटको हाइड्रोजन प्लान्ट लगाउने विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिनुभयो । ‘हाइड्रोजन प्लान्ट लगाउने विषयमा अर्थ मन्त्रालयको तर्फबाट पनि केही तयारी गर्छौँ । तपाईँहरू (केयूका पदाधिकारी) पनि तयारी गर्नुस् । र, हप्ता–दश भित्र पुनः अर्को बैठक बसौँ’ उहाँले भन्नुभयो ।

अर्थमन्त्री शर्माले लगानी बोर्ड मार्फत लगानीकर्ताको खोजी गर्ने जानकारी गराउनुभएको थियो । रासायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीहरूले इच्छा देखाइरहेको जानकारी गराउँदै मन्त्री शर्माले हाइड्रोजन इन्धनबाट मल कारखाना सञ्चालन गर्ने विषयमा छलफल अघि बढाउने बताउनुभयो ।

छलफलमा ग्रिन हाइड्रोजन ल्याबका प्रमुख बिराजसिंह थापाले १ सय मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्ने गरी अन्तर्राष्ट्रिय कम्पनीहरूले प्रस्ताव गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले विभिन्न देशमा ग्रिन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियमलाई विस्थापित गरी ग्रिन हाइड्रोजन अवलम्बन गर्ने नीतिका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार १ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी चाहिन्छ । विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो भएको उहाँले बताउनुभएको थियो । ‘हिमालयन देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ ।  त्यसैले नेपालको हिमाली तथा  पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्‍यौ भने धेरै फाइदा पुग्छ । निर्यातमा कोशेढुङ्गा साबित हुन सक्छ’ थापाले भन्नुभयो । 

https://ujyaalonepalnews.com/archives/21859

Previous articleऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
Next articleआपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन : मन्त्री बडू
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।