भैरवस्थानको गुरुयोजना अलपत्र

बागलुङ। बागलुङ नगरपालिका–१२ स्थित भैरवस्थान मन्दिरको विकास गुरुयोजना अलपत्र परेको छ । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न २०७१ सालमा उक्त गुरुयोजना तयार पारिएको थियो । झण्डै रु १७ करोडको गुरुयोजना आठ वर्ष बित्दासमेत कार्यान्वयनमा आउन सकेको छैन ।

तत्कालीन मन्दिर व्यवस्थापन समितिले रु दुई लाख खर्चेर गुरुयोजना बनाएको थियो । गुरुयोजनामा मन्दिर पुनःनिर्माण, सत्तल, कोतघर, पदमार्ग, बगैँचा, व्यापारिकस्थल, पुजारी घरलगायत संरचना बनाउने उल्लेख छ । कूल ५८.५० वर्गकिमिमा भौतिक पूर्वाधार निर्माणका लागि लागत योजनासमेत तय गरिएको थियो ।

समितिका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर थापाले गुरुयोजनाअनुसार काम नहुँदा मन्दिरको विकास–निर्माण लथालिङ्ग अवस्थामा पुगेको बताउनुभयो । आफ्नो पालामा गुरुयोजना बनेपनि त्यसको कार्यान्वयनमा पछिल्लो नेतृत्वले उदासिनता देखाएको उहाँको भनाइ छ ।

“जीर्ण भइसकेको मन्दिरलाई पहिले पुनःनिर्माण गर्नुपर्छ भनेर लागेका थियौँ, पुरातत्व विभागले पनि स्वीकृत गरेको थियो”, थापाले भन्नुभयो, “पछि स्थानीय चुनावबाट नयाँ जनप्रतिनिधि आए, नगरपालिकाले आफ्नै तरिकाले काम गर्न थाल्यो, पहिलेको समितिलाई वास्ता गरिएन ।” रु तीन करोड खर्चेर प्यागोडाशैलीमा मन्दिर पुनःनिर्माणका लागि ढुङ्गा र काठको जोहो भइसक्दा पनि काम अघि बढ्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

वडा र नगरले मन्दिरमा केही लगानी गरेजस्तो देखिए पनि त्यो टालटुले खालको भएको स्थानीयवासीको गुनासो छ । निर्माणमा मौलिक कला र सिल्पको प्रयोग भएको छैन । बनेका संरचना पनि आकर्षक छैनन् । सङ्घ, प्रदेश र नगरको सहयोगमा मन्दिरअघिको भुइँमा ढुङ्गा बिछ्याउने, पर्खाल, पोखरी निर्माण र सत्तल जीर्णोदारको काम गरिएको छ । वडाध्यक्ष कोपिलामणि शर्माले व्यवस्थापन समिति गठन हुन नसक्दा मन्दिर बेवारिसेझैँ बन्न पुगेको बताउनुभयो ।

“छ÷सात वर्षदेखि समिति बनेको छैन, खिचातानी र असमझदारीको मारमा मन्दिर परेको छ”, उहाँले भन्नुभयो, “अब वडाका तर्फबाट व्यवस्थापन समिति गठनका लागि हाम्रो पहल हुन्छ, समिति आयो भने मन्दिरको कामले गति लिने विश्वास छ ।”

गुरुयोजनाअनुसार काम हुन नसक्दा मन्दिरमा शौचालय र खानेपानीकोसमेत प्रबन्ध हुन नसकेको वडाध्यक्ष शर्माको भनाइ छ । “भक्तजनले मन्दिरमा पानी नपाएको गुनासो गर्दैआएका छन्”, उहाँले भन्नुभयो । गुरुयोजना निर्माण गर्ने समितिमा वडाध्यक्ष शर्मा पनि सदस्यका रुपमा हुनुहुन्थ्यो । भैरवस्थापनको बृहत्तर विकासका लागि गुरुयोजनामा घरबास सञ्चालन, दृश्यावलोकन स्तम्भ, पदमार्ग पहिचानलगायत योजना समेटिएको छ । गुरुयोजना कार्यान्वयनमा आउन सके यस क्षेत्रकै प्रसिद्ध शक्तिपीठका रुपमा चिनिएको भैरवस्थान धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुनेछ ।

दीर्घकालीन विकास योजनामार्फत भैरवस्थानलाई राष्ट्रियस्तरमा पहिचान दिलाउने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गुरुयोजनाको लक्ष्य छ । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वको भैरवस्थान ओझेलमा छ । पूर्वाधार विकास नहुँदा भक्तजन तथा पर्यटक भित्रन सकेका छैनन् ।

व्यवस्थापन समिति नहुँदा मालपोत कार्यालयले वार्षिक ठेक्कामा पूजा सञ्चालन गर्दै आएको छ । रु छ लाख ५० हजारमा स्थानीयलाई पूजा चलाउने जिम्मा दिइएको छ । मन्दिर गुठीका नाममा रहेको खेतको उब्जनी पनि बर्सेनि ठेक्काकै रकमअन्तर्गत जाने गरेको वडाध्यक्ष शर्माले बताउनुभयो ।

विसं १८३३ मा पाल्पाका सेनवंशी रजौटाबीच विवाद हुँदा भैरव देवतालाई त्यहाँ ल्याएर राखिएको किम्वदन्ती छ । मन्दिरका पुजारी टेकबहादुर शाहीले मन्दिरमा कालभैरव देउताको पूजा हुने गरेको बताउनुभयो । उहाँका अनुसार हरेक मङ्गलबार र शनिबार मन्दिरमा विशेष पूजाआजा हुन्छ ।

बर्सेनि बडादसैँको नवमी र भदौको पहिलो मङ्गलबार मन्दिरमा मैला लाग्छ । “कालभैरवको भाकल र पूजापाठ गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ”, पुजारी शाहीले भन्नुभयो, “यहाँ बली पनि चढ्छ ।” मन्दिर नजिकै कोतघर छ । यो त्यसबेलाका राजारजौटाले पूजा गर्ने मन्दिर हो ।

https://ujyaalonepalnews.com/archives/21953

Previous article१७ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
Next articleकोरोना बीमाबापतको रकम दिन परमादेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।