हाइटेन्सन मुनिको खाली जग्गामा ‘ईको पार्क’ निर्माण

बारा । हाइटेन्सन मुनिको खाली जग्गालाई सदुपयोग गर्दै बाराको निजगढमा २ वटा सामुदायिक वनले ‘ईको पार्क’ निर्माण गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने र सामुदायिक वनको आम्दानी बढाउने उद्देश्यले बाराको निजगढस्थित जनहित र जनसिर्जनशील सामुदायिक वनले ‘ईको पार्क’ निर्माण गरेका हुन् । 

मधेस प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ‘हाईटेन्सन लाईन मुनि ईको पार्क निर्माण’ कार्यक्रम अन्तर्गत २०/२० लाख रुपैयाँको लागतमा डिभिजन वन कार्यालय बाराले २ वटा सामुदायिक वनमा सो पार्क निर्माण गरेको हो । हेटौँडा—ढल्केवर ४ सय केभी प्रसारण लाइन कै तल खाली जग्गामा सो पार्क निर्माण गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । 

जनहित सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष चन्द्रिका कुमारी मगरले सहरतर्फ मानवीय चाप बढ्दै गएकाले भविष्यमा खाली जग्गा अतिक्रमण हुनसक्ने भएकाले ईको पार्क निर्माण गरिएको बताउनुभयो । डिभिजन वन कार्यालय बाराले गत वर्ष जिल्लाभरमा रहेका ४१ वटा सामुदायिक वन उपभोक्ता समितिमध्ये २ वटामा सो पार्क निर्माण गरेको हो । 

डिभिजन वन कार्यालय बाराका अधिकृत अनिलकुमार साहले  मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयको पुँजीगत कार्यक्रम अन्तर्गत हाइटेन्सन मुनि रहेका खाली जग्गालाई सदुपयोग गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ईको पार्क निर्माण गरिएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/22191

Previous articleनेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह
Next articleदुई दिन फोहर व्यवस्थापन प्रभावित हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।