
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलियासमक्ष आग्रह गरेको छ ।
नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौँको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् । नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यकता रहेको अध्यक्ष मल्लले बताउनुभयो ।

अष्ट्रेलियाले नेपालको बन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समय देखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिनुभयो । उहाँले जडीबुटी एवं खानी जन्य तथा धातुहरूको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गर्नुभयो ।
वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गर्नुभयो । अध्यक्ष मल्लले भन्नुभयो, अष्ट्रेलियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेछ ।
नेपालका विद्यार्थीहरू अष्ट्रेलियामा अध्ययनका लागि गइरहेको सन्दर्भमा अध्यक्ष मल्लले त्यहाँका विख्यात शैक्षिक संस्थाहरूबाट नेपाली शैक्षिक संस्थाहरूलाई सम्बन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गर्नुभयो । अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाइदा लिन सक्नेमा जोड दिनुभयो । यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अष्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिन समेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गर्नुभयो ।
जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रेलियाको कूटनीतिक सम्बन्ध ६० बर्ष भन्दा पुरानो र ऐतिहासिक भएको बताउनुभयो । नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अष्ट्रेलियाले सधैँ गर्व गर्ने उहाँको भनाई छ । नेपालबाट वार्षिक ५० हजार विद्यार्थीहरू अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरूको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । वल्कले भन्नुभयो, नेपालबाट वार्षिक ५० हजार विद्याथीलाई अष्ट्रेलियाले अध्ययन भिसा उपलब्ध गराउँदै आएको छ ।
अष्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको सङ्ख्या विश्वमा चीन, भारत पछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौँ । नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अष्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाई छ ।
https://ujyaalonepalnews.com/archives/22189


