
चितवन । चितवन उद्योग सङ्घ परिसर, चितवन प्रदर्शनी केन्द्रमा दुई दिने रोजगार मेला हुने भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना तथा उद्योग वाणिज्य सङ्घ,चितवन, चितवन उद्योग सङ्घ, चितवन चेम्बर अफ कमर्स लगायत अन्य व्यावसायिक संस्थाका छाता सङ्गठनको समन्वय र सहकार्यमा असार २२ र २३ गते उक्त मेला आयोजना गर्न लागिएको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो ।
होटल व्यवसायी महासङ्घ नेपाल, क्षेत्रीय होटेल सङ्घ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहा र नेपाल पोल्ट्री महासङ्घको सहकार्य र नेपाल सरकार तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा आधारित दिगो तथा रोजगारीका लागि सीप (इन्स्योर) परियोजना दोस्रो चरण, हेल्भेटास नेपालको प्राविधिक सहयोग रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुबेदीले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग पुर्याउने उद्देश्यका साथ रोजगार मेला आयोजना गर्न लागिएको बताउनुभयो ।
रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई यस क्षेत्रका सीपयुक्त जनशक्तिलाई स्थानीय उद्योग, पर्यटन, होटल, निर्माण व्यवसाय लगायतका क्षेत्रमा रोजगारी उपलब्ध गराउन मेलाले सहयोग गर्ने सुबेदीको भनाई छ । यो मेलाले आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेलामा उद्योग, सेवा–क्षेत्र, विभिन्न व्यवसायका रोजगारदाता लगायत रोजगार र स्वरोजगार बन्न चाहनेको लागि बढी उपयोगी हुने आयोजकको विश्वास छ ।
सो अवसरमा बोल्दै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले यो रोजगार मेलामा यहाँका विभिन्न व्यावसायिक प्रतिष्ठान तथा उद्योगहरूमा कस्ता जनशक्तिको प्रयोग भइरहेको छ र दक्ष जनशक्तिको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने जानकारी हुने बताउनु भयो । मेलाले रोजगारदाता र रोजगारीकर्ता बीच पुलको काम गर्ने उहाँको भनाई छ । मेलामा स्वरोजगारबाट उत्पादन भएका बस्तुको प्रवर्द्धन र नयाँ प्रविधिबीच जानकारी तथा व्यवसायीबीच ज्ञान आदानप्रदान गर्न सकिने कँडेलले बताउनु भयो ।
मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र सीप विकास तालिम, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क, वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र सीप विकास तालिमबारे जानकारी दिइने छ ।
यस मेलाले एकातर्फ देशको दक्ष जनशक्ति पलायन हुन रोक्नुका साथै अर्कातर्फ उद्योग–व्यवसाय लगायतका मेलाले जनशक्तिको माग र आपूर्तिबीच सन्तुलित तालमेलका लागि महत्त्वपूर्ण अवसर उपलब्ध गराउने आयोजकको विश्वास रहेको छ ।
मेलामा निःशुल्क प्रवेश को व्यवस्था गरिएको छ । दुई दिन सम्म चल्ने मेलामा ८ हजार देखि १०हजार सम्मले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा १०० देखि २०० जना बेरोजगार युवाले कार्यक्रम स्थलमा विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने आयोजकले बताएको छ ।
https://ujyaalonepalnews.com/archives/22454


