कृषिजन्य उत्पादनमा अनुदान पाएपछि सल्यानका कृषकहरू उत्साहित 

सल्यान । सल्यानका स्थानीय तहहरुले कृषिजन्य उत्पादनमा अनुदान पाउन थालेपछि कृषकहरू उत्साहित भएका छन् । 

युवालाई स्वरोजगार बनाउने उद्देश्यले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक उत्साहित बनेका हुन । 

जिल्लाको त्रिवेणी गाउँपालिकाले दूधमा प्रतिलिटर ५, खसी बोका उत्पादनमा प्रतिगोटा ५ सय, अण्डामा प्रतिगोटा ५० पैसा, तरकारी प्रति रोपनी १ हजार र फलफूलमा प्रतिरोपनी १ हजार रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । 

गाउँका कुनै पनि कृषकले उत्पादन गरेर निर्यात गर्ने दूध, मासु, अण्डा, तरकारी, फलफूलमा अनुदानमूलक कार्यक्रम सुरु गरेदेखि कृषि पेसामा संलग्न हुनेहरूको सङ्ख्यामा पनि वृद्धि आएको पशु सेवा शाखाका प्रमुख वसन्त रावतले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा २४ सय क्विन्टल ताजा तरकारी उत्पादन गर्ने ३९ किसानलाई २ लाख ३० हजार, १८ सय क्विन्टल फलफूल उत्पादन गर्ने ५९ किसानलाई २ लाख ७३ हजार रुपैयाँ अनुदान दिइएको रावतको भनाई छ । 

यस्तै दूध उत्पादन तर्फ १५ किसानलाई ४ लाख ४ हजार ३ सय १५, खसी बोका उत्पादन गर्ने ४३ कृषकलाई १ लाख ५४ र अण्डा उत्पादन गर्ने एक किसानलाई ४५ हजार रुपैयाँ प्रदान गरिएको उहाँले बताउनुभयो । 

कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण गर्ने, उत्पादनको आधारमा अनुदान दिने, किसानलाई कृषि पेसा प्रति प्रोत्साहन गर्न, रोजगारी प्रदान गर्न र कृषकको जीवनस्तरमा सुधार ल्याउन गाउँपालिका अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताउनुभयो । 

उत्पादनमा आधारित अनुदान कार्यक्रमले वास्तविक किसानलाई निकै राहत गरेको कृषक रत्नबहादुर रेउलेले बताउनुभयो । १० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनु भएका उहाँले पालिकाले आफूहरूले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण र अनुदान दिन थालेपछि उत्पादनको क्षेत्र विकास गर्दै गएको बताउनुभयो । 

https://ujyaalonepalnews.com/archives/22452

Previous articleपौडी खेल्दा खोलामा डुबेर चितवनमा एक पुरुषको मृत्यु
Next articleचितवनमा ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।