
काठमाडौँ । नेपाल औषधि लिमिटेडले हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज आयोजित एक विशेष समारोहमा तीन वटै सेवाको उद्घाटन गर्नुहुँदै नेपाल औषधि लिमिटेडले सञ्चालनमा ल्याएको हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन उपकरण र सूक्ष्म—जैविक शाखाको एयर ह्यान्डिलिङ युनिट कुशल उत्पादन अभ्याससहित आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री बडूले मृतप्रायः अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई पुनर्जीवन दिन पूर्व मन्त्री नविन्द्रराज जोशीले खेलेको भूमिकाको स्मरण गर्नुहुँदै थप औषधि उत्पादनका लागि आफू छलफलमै रहेको बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षको बजेटले पनि उत्पादन अभिवृद्धिका लागि विशेष लक्ष्य, नीति तथा कार्यक्रम तय गरेकोले चिकित्सा क्षेत्रमा थप औषधि र औषधि उपचारमा प्रयोग हुने वस्तु उत्पादनलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुरूप सरकारले काम गरिरहेको बताउनुभयो ।

लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले हेमोडाइलाइसिस उपकरणबाट हेमोडाइलाइसिसको उपचार लिनुपर्ने बिरामीहरूका लागि चाहिने Dialysate (haemodialysis fluid and powder)को नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय उत्पादन हुने जानकारी दिनुभयो ।
उहाँले यस उपकरणबाट उत्पादनको तयारी पूरा भएको र अब दैनिक ८०० देखि १६०० युनिटसम्म Dialysate उत्पादन गर्न सकिने बताउनुभयो।
त्यसैगरी पानी प्रशोधन उपकरणको स्थापना र सञ्चालनपछि औषधिजन्य प्रयोजनका लागि आवश्यक शुद्ध प्रशोधित पानी उपलब्ध हुनेछ।
विगतमा यस्तो प्रणाली नभएकाले नेपाल औषधि लिमिटेडले कुशल उत्पादन अभ्यासको प्रमाण पत्र पाउन नसकि औषधि उत्पादन समेत प्रभावित भएकोमा अब यस प्रणालीमार्फत प्रतिघण्टा १००० लिटर शुद्ध पानी उपलब्ध हुने र यसले औषधि लिमिटेडबाट उत्पादन हुने हेमोडाइलाइसिस र अन्य औषधिहरूको गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै सूक्ष्म—जैविक शाखाअन्तर्गत एयर ह्यान्डिलिङ युनिटको स्थापनापछि औषधि उद्योगमा प्रयोग हुने पानी, विभिन्न कच्चा पदार्थ र तयारी औषधिहरूको सूक्ष्म जैविक परीक्षण हुनुका साथै औषधि उत्पादन अभ्यास प्रमाणपत्रका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि लिमिटेडमा यस्तो व्यवस्था थिएन।
उल्लेखित प्रणाली जडानमा अमेरिकी सहयोग नियोग USAID र USP ले सहयोग गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह—सचिव एवम् नेपाल औषधि लिमिटेडका अध्यक्ष चन्द्रकला पौडेलले कुनै समय १२० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेड हाल ४ वटा उत्पादनमा मात्र सीमित रहेको बताउनुभयो ।
नेपाल सरकार, विशेष गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको पहलमा यसको सुधार तथा विकासमा पर्याप्त सहयोग हुने अपेक्षा लिएका उहाँले बताउनुभयो
नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले नेपालमा १०८ औषधि उत्पादक उद्योगहरू दर्ता भएको जानकारी दिनुभयो । उहाँले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनु सरकारले औषधि उत्पादक उद्योगहरूको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना महामारीको समयमा गाउँ गाउँमा औषधि तथा स्वास्थ्य उपकरण सहयोग गर्ने क्रममा सिटामोलको अभाव भएको गुनासो आएको बताउनुहुँदै त्यसैको खोजी गर्दै जाँदा नेपाल औषधि लिमिटेडमा आइएको र यहाँका उपकरण मर्मतलगायत कार्यमा सहकार्य गरिरहेको बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/22566


